कोरोना बाट पाल्पामा थप एक महिलाको मृत्यु

पाल्पा, कोरोना भाइरस संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

शुक्रबार राती ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मृतक महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भदौ ३० गते भर्ना भएकी थिईन । उनको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । दुई दिन घरको आईशोलेसन गएर बस्दा समस्या देखिएर हिजो (शुक्रबार) पूनः लुम्बिनी मेडिकलको आईशोलेसनमा आएको र राती नै मृत्यु भएको हो ।’
यस अगाडी बिहिबार पनि पाल्पामा कोरोनाका कारण तानसेन नगरपालिका–७, टिन्टीआँपका ५२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । पाल्पामा समुदाय स्तरमा कोरोना फैलने दैनिक रुपमा बढ्दो छ । पाल्पाको दश वटै स्थानीय तहमा समुदायमा कोरोना फैलिएको छ । पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९८ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी १६ जना साथै ५ जना जनप्रतिनिधिहरु रहेका छन् । पाल्पा जिल्लामा हालसम्म ६ सय ८५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ५ सय ७७ जना निको भएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?