रम्भा २ मा तीन घर पुरिँदा ६ जना बेपत्ता

पाल्पा, अविरल वर्षादका पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।
विहिबार विहान खसेको पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताउनुभयो। हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनीहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष सारूले बताउनुभयो ।
उहाँका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएकाे हो । तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्।
यता अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।


घटना स्थलमा अहिले स्थानीयले उद्दार गरिरहेका छन्। घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?