पूर्वखोला गाउँपालिकाले पनि आवत जावतमा कडाई गर्दै

 पाल्पा, छिमेकी स्थानीय तहहरुमा कोरोना संक्रमण समुदाय स्तरमा देखिए पछि पाल्पाको पूर्वखोला गाउँपालिकाले पनि आवत जावतमा कडाई गरेको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले समुदायस्तरमा संक्रमण देखिए पछि उच्च सतर्कता अपनाएको अवस्थामा आवतजावतले संक्रमण समुदाय स्तरमा जान सक्ने भन्दै कडाई गरेको हो ।

पालिकाले छिमेकी स्थानिय तहहरुमा अत्यावश्यक काम बाहेक अन्य काम आवत जावत नगर्न आग्रह गर्दै जानै परेमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । त्यस्तै पालिकाले पूर्वखोला गाउँपालिका भएर अन्यत्र जाने क्रममा समुदायमा घुलमिल नहुने गरी जान समेत अनुरोध गरेको छ । पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञान प्रसाद पनेरुले अन्य स्थानीय तह बाट आवतजावत गर्दा संक्रमण समुदाय स्तरमा पुग्न सक्ने भएकाले कडाई गरेको बताउनुभयो । उहाँले पालिका भित्रका बजार, यातायात, बैंक तथा वित्तिय संस्था र कार्यालयहरु खुल्ला रहेको बताउनुभयो ।

पूर्वखाेला गाउँपालिकाले साेमबार जारी गरेकाे सूचना

पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालका अनुसार पूर्वखोलामा अहिले १२ जना सक्रिय संक्रमितहरु रहेका छ । उनीहरु भारत तथा अन्य मुलुक बाट आएका हुन् । गाउँपालिकामा अहिले सम्म १ सय ७७ जना संक्रमण देखिएको छ । जस मध्ये १ जनाको निधन भएको छ भने १ सय ६४ जना निको भै सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?