बगनासकालीका २९ विपन्न परिवारको कांग्रेस नेताहरुले गरिदियो स्वास्थ्य बीमा

मुक्ति न्यौपाने
पाल्पा, बगनासकाली गाउँपालिकाका २९ विपन्न परिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् ।

          नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बगनासकाली –६, टोक्सेका दलित विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् । स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताउनुभयो । रानाले भन्नुभयो, ‘कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेका हौं ।’

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत समेत सहयोग पुर्याउँदै आएको बताउनुभयो । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०/२० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?