कोरोना अनुभवः भ्रम र यथार्थ

नवराज ढुंगाना
भैरहवा

२०७७ असोज १५ गते बिहिबार अली चाँडै अफिस पुग्नु पर्ने बाध्यता थियो । अघिल्लो दिन दुइ वटा फाइल मलपो मा रोक्का नभएको कुराले मनमा चिन्ता त थियो नै बिहीवार पनि अर्को २ वटा धितो रोक्का गरी दिस्बर्स गर्नु पर्ने थियो । अक्टोबर १ तारिक परेकोले बिहान ८ बजे देखी नै कार्यालय अगाडी भारतीय भूपू सैनिक पेन्सनरहरुको भिड लागि सकेको थियो ।

बिहान ८ः४५ म अफिस पुगिसकेको थिए । भैरहवा बाट परासी आउने जाने गर्न लगेको कारीब ३ महिना भैसकेको थियो । कारिब ३५ मिनेट स्कुटरमा जानु र फर्किनु मेरो नियमित दैनिकी थियो । त्यस दिन पनि बिहान नुहाई सकेपछि केही अफ्त्यरो महसुस हुँदै थियो । केही दिन अघि ममी भैरहवा आउनु भएकोले छोराको हेरचाहको लागि ढुक्क थियौ । हामी दुबै जना काममा जानु पर्ने भएकोले विहान देखि नै हतार हतार काम गर्नु पर्ने बाध्यता त दैनिकी नै बनी सकेको थियो । अफिस पुगेर काम गर्दै थिए १२ बजेको पत्तै भएन । काम हुँदै थियो , काउन्टरमा भिड भाड थियो । मेरो कोठामा पनि २ जना ग्राहक हुनुहुन्थ्यो । उहाँ कै रोक्काको काम भएकोले कर्जा सुरक्षणका कागजात तयार गर्दै थिए । मोबाईलमा आएका काम संग सम्बन्धित फोन कल पनि रिसिभ गर्दै पनि थिए ।

करीब १२ः३० बजे पछि असाध्यै टाउको दुख्यो । यस अघि पनि कहिले काही दुख्ने भएकोले सामान्य रुप मै लिन प्रयास गर्दै थिए । जसो तसो आफ्नो रूममा भएका ग्राहकको काम सकाउन प्रयत्न गर्दै पनि थिए । यस बिच मै टाउको दुखाईको त्यो असैह्य पिडा खप्न नसकी अफिस कै एक कर्मचारीको सहयोगमा एउटा सिटामोल खान भ्याई सकेको थिए ।

घडी मा १ बजि सकेको रहेछ । पिडा भैरहेको थियो । जिउ थर थर काप्न थाल्यो, म अत्तालिएँ । मेरो केही अत्ति महत्वपूर्ण जिम्मेवारी र चाबी एकजना सहकर्मी लाई सुम्पिएर तल झरे । आँखा तिर्मीराउन थाले, रिङ्गटा लागे जस्तो भयो । गार्ड दाईले स्कुटर तयार गरिदिनु भयो र निस्कीए घर तर्फ । करीब २५ कि.मी. को यात्रा गर्नु पर्ने थियो । आधा बाटो आउँदा नआउँदै असाध्यै जाडो महसुस भयो । स्कुटर रोकी सडक छेउ मा घाम तापेर बसिरहे । मुख सुकेको थियो, आँखा भात् भती पोल्न थाल्यो यद्यपी बाहिरको तातो घामको किरणले जाडोपन लाई भगाईसकेको आभाश गराउँथ्यो। यत्तिकैमा परासी कै एकजना साथीको सहयोगमा भैरहवा आइपुगे । शरीर पुरै गलीसकेको थियो । ममी र बाबु घर मै हुनुहुन्थ्यो श्रीमती अफिस ।

शरिरको सम्पूर्ण भागहरु दुखेर असह्य पिडा खपिरहेको थिए । जिउ थरथर कापेकै थियो । त्यति बेलाको पीडा शब्दमा बयान गर्न असमर्थ छु । सुनेकै थिएँ जीवनमा भोग्ने पिडा मध्ये महिलाहरुको प्रसव पिडा नै पहिलो र कठिन पिडा हो । दोस्रोमा जिउँदै जल्नुको पिडा तर यो सत्यलाई मेरो मनले अस्वीकार गरिरहेको थियो । २ ओटा सिटामोल खाइ सुत्न प्रयास गरे तर अनौठो र असह्य पिडाले सुत्न सक्ने अवस्था थिएन मेरो । दिउँसोको ४ः३० भइसकेको रहेछ, अफिसबाट छिटो विदा मागी श्रीमती आइपुगिन् । म दुखाईले एकोहोरो बर्बराइरहेको थिए । श्रीमतिले ज्वरोको नाप लिन सघाइन् । ज्वरो लगभग १०३ डिग्री फरेनहाईट रहेछ । तातोपानी बेसार पानी तथा सिटामोल खान दिइछन तर मलाई पत्तो पनि पाईन ।

सकि नसकी साँझको खाना खाँए । यस विचमा म छुट्टै रुममा बस्ने चाँजोपाँजो श्रीमतीले मिलाएकी थिइन । ममी र बाबु तल्लो तलामा र म सबैभन्दा माथिल्लो तलाको कोठामा सुते । श्रीमती म सुतेकै तलाको भान्छामा सुतिन । रातभरीको पिडा र बर्रबराहटले शरिर झन शिथिल भएछ । ज्वरो अझै उच्च थियो । मेरो नजिक कोही नआउनु भन्दै म छुुट्टै रहे । शुक्रवार विहान करिव ८ बजे भिम अस्पताल, भैरहवाको इमरजेन्सी वार्डमा पुगे । मनमा हर तरंगका सवालहरु आइरहेका थिए । शरिर पुरै गलेर उभिन पनि सकेको थिइन । इमरजेन्सी कक्षबाट केही औषधि लेखिदिनू भयो र १० बजेपछि आउनु भन्ने सुझाव लिएर फेरी घरमा आएँ । १० बजे अगावै जाउलो खाइवरी फेरी अस्पताल पुगे । श्रीमती सँगै थिइन ।अस्पतालमा टिकट लिएर ३ नं कोठामा गई चिकित्सक संग परामर्श लिए । छातीको एक्सरे गर्न सुझाउनु भयो र सोही अनुसार एक्सरे गरेर डाक्टरले दुखाइ र ज्वरोको साथै मल्टिभिटामिनको क्याप्सुल दिनु भयो ।

शुक्रवारको दिनभरी नै ज्वरो र दुखाइ संग पौठेजोरी खेल्दैमा बित्यो । कता कता डर चिन्ता र नरमाइलो लागि रहेको थियो । घरमा सबैले भाइरल हो ठिक हुन्छ भनी सान्त्वना दिइरहे । तर म भने कोरोना संक्रमण भएको छ भनी मनलाई दहो बनाउँदै थिएँ । मेरो शरिरको भाषा त्यस्तो आइसकेता पनि घरका सदस्यलाई केहि भएको छैन भनी आश्वस्त पार्न छाडेको थिइन । शरिरले लक्षण फरक देखाउँदै थियो । भित्री मन डराए पनि परिवारमा त्यो आभाष पारेको थिइन । वास्तवमा यो मात्रै नभएर जुनसुकै रोगको औषधी उच्च मनोबल हो भन्ने लाग्थ्यो ।

ज्वरो नाप्दै ६/६ घण्टाको फरकमा कोडोपार भन्ने औषधी खाए । गुर्जो र अन्य जडिबुटी हालेर श्रीमतीले काडा बनाएर दिन्थिन । दिनको ३/४ पटक त्यो खान थाले । जिब्रोमा एकास्सी स्वाद र नाकमा गन्ध थिएन केही खान मन नलागे पनि श्रीमतीको करले खान्थे तर स्वाद रत्ती भर थिएन । यसै क्रममा अफिसमा एकजना सहकर्मीलाई कोरोना संक्रमण देखिएको जानकारी पाएँ । त्यसपछि मलाई झन ठोस रुपमै लाग्यो की म पनि संक्रमित छु भनेर । शनिवार देखि ज्वरो १०१ डिग्रीमा झर्यो तर जिउ दुख्न र गल्न रोकिएन उल्टो बढीरहयो । प्रादेशिक अस्पताल बुटवलमा आइतबार १२ बजे स्वाव दिए । संगै गएकी श्रीमतीले पनि स्वाव दिइन । दिनभर सामान्य ज्वरो आइरहयो भने शरिर दुख्ने र थकाइ लाग्ने अवस्था कायम रहिरहयो । सोमबार विहान सम्म शरिर निकै गलिसकेको थियो । अश्वगन्धा र च्यवनप्रास किन्न श्रीमती संगै घरबाट बाहिर जान्छु भन्ने योजनामा घरबाट १० मिटर पुग्दा नपुग्दै मेरो गृह जिल्लाको आफ्नो नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको फोन आयो, कस्तो छ स्वास्थ्य अवस्था भनेर । तब थाहा पाएँ रिपोर्ट पोजेटिभ रहेछ भन्ने ।

जनतालाई कोरोनाले रगतमा अक्सिजन घटाइदिने र फोक्सोमा संक्रमण गर्ने दुई कारणले नै मान्छेको मृत्यृ भइरहेको यथार्थतालाई नबुझे झै गरिएको छ । बेहोस भएपछि वा बेहोस हुन लाग्दा मात्र अस्पताल आउनु भनिएको छ तर कस्तो अवस्थामा विरामी बेहोस हुन्छ र के कारणले उक्त अवस्था आउछ भन्ने शिक्षा दिइएको छैन । तसर्थ हामी स्वंय सजग हुनु जरुरी छ ।

साइकोलोजी पनि अचम्मको चिज रहेछ । अघिसम्म ठिकै भएकोमा अब छाती गह्रौ भएजस्तो लाग्यो । सास फेर्न गाह्रो भएजस्तो भयो वास्तवमा रोग कति छिटो निको हुन्छ भन्ने कुरा विरामीको आत्मबलले निर्धारण गर्दो रहेछ । मैले सान्त्वना नपाएको र मनोबल उच्च नपारेको भए, थाहा छैन म मा अरु के के लक्षण देखिए झै हुने थियो ।  तसर्थ संक्रमित व्यक्ति संयमित र धैर्यवान हुनु पनि जरुरी छ । त्यसै गरि कम्तीमा पनि एउटा थर्मोमिटर र अक्सिजन मीटर हुनु जरुरी छ तर यो कुरा डाक्टरहरु बाट आउनुपर्नेमा बेहोस हुन लागेमा मात्रै हस्पिटल आउनु भन्ने कु शिक्षा दिइएको छ । जनतालाई कोरोनाले रगतमा अक्सिजन घटाइदिने र फोक्सोमा संक्रमण गर्ने दुई कारणले नै मान्छेको मृत्यृ भइरहेको यथार्थतालाई नबुझे झै गरिएको छ । बेहोस भएपछि वा बेहोस हुन लाग्दा मात्र अस्पताल आउनु भनिएको छ तर कस्तो अवस्थामा विरामी बेहोस हुन्छ र के कारणले उक्त अवस्था आउछ भन्ने शिक्षा दिइएको छैन । तसर्थ हामी स्वंय सजग हुनु जरुरी छ । मेरो अनुभवमा कोरोना संक्रमितले ४ वटा कुरामा सजगता अपनाउनु जरुरी छ ।

१. ज्वरोको स्थिती
२. संक्रमण फोक्सो सम्म पुगे नपुगेको हेक्का
३.रगतमा अक्सिजनको मात्रा
४. शरिरमा भिटामिनको कमी हुन नदिने ।

यी नै लक्षणको आधारमा उपचार गर्नुपर्छ र निको भइन्छ नकी बेसार पानी र हाछयुले मात्र निको हुने होइन । यो सामान्य रुघाखोकी मात्रै त पटक्कै होइन । म आज ११ औ दिनमा कोरोना संग लड्दैछु । पुर्ण निको भएको छैन तर पूर्ण आत्मबल र सजगताले सुधार हुँदैछ । वास्तवमा स्वास्थ्य सजगता र सावधानी अपनाउदा अपनाउदै पनि म संक्रमित भए तसर्थ यसलाई हेलचेक्रयाई नगरौं । हावा बाट पनि सर्ने भएकोले यसलाई जीवनकै अंग ठानी आत्मसात गर्दै परास्त गरेर अघि बढौं।

लेखक बैंकर हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?