शब्द/तस्वीर :- इमान सिं राना/मीन सोमै
पाल्पा, असोज र कार्तिक महिनालाई पर्यटनको सुरुवाती सिजनको रुपमा लिईन्छ । वर्षाद संगै गर्मी सकिएर जाडो सुरु हुने र खुलेको मौसमका कारण प्राकृतिक दृश्यहरु पनि छर्लङ्ग देखिने हुनाले घुम्नको लागि यो समय उपयुक्त मानिन्छ ।
विगतका वर्षहरुमा यति बेला शैक्षिक तथा अन्य अध्ययन अवलोकन भ्रमणका लागि निस्कनेहरुको लर्को लाग्ने गरे पनि यस वर्ष विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसको कारण पर्यटनका गतिविधिहरु न्यून छन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने पर्यटकिय स्थलहरु सुनसान प्राय छ । तर पाल्पाको निस्दी ३ झिरुवासमा अवस्थित काउलेडाँडामा भने लकडाउन खुले संगै निकै चहलपहल बढेको पाईएको छ ।
कोरोना भाईरस संक्रमणको जोखिमका विच पनि अम्रिसो नै अम्रिसोले भरिएको डाँडाको अवलोकन र त्याहाँ बाट देखिने हिमाल देखि तराई सम्मका दृश्य अवलोकनका लागि दैनिक सयौं पर्यटकहरु पुग्न थालेका हुन् । केही समय अघि वनमासाले भरिएको काउलेडाँडा पूर्वी नेपालको चियाबगानको झल्को दिने अम्रिसोको वनका रुपमा चर्चा बटुल्दै आएको छ । २०६७ साल देखि वृक्षरोपण थालिएको वनमा पछिल्लो समय क्रमिक रुपमा घुम्न जानेको संख्या वृद्धि भैरहेको थियो । तर कोरोनाको कारण सुनसान बनेको काउलेमा पछिल्लो समय लकडाउन खुले संगै घुम्न जानेको संख्या ह्वातै बढेको हो ।
यस वर्ष चाड पर्वमा अन्यत्र घुम्न नगएका अधिकांश मानिसहरु काउले पुगिरहेका छन् । गत चैत्र देखि बन्द भएको काउले भदौ देखि खुल्ला गरिएको थियो । अहिले विगतको समयको तुलनमा २५ प्रतिशतले घुम्न जानेको संख्यामा वृद्धि भएको काउले डाँडाको व्यवस्थापन गर्दै आएको काउले डाँडा कवुलियति वन कृषि सहकारीले जनाएको छ । सहकारीका सचिव मन बहादुर ढेंगाको अनुसार औसतमा दैनिक ४ सय भन्दा बढी काउले पुगिरहेका छन् । ढेंगाले भन्नुभयो, ‘वर्षेनी घुम्न आउनेको संख्या वृद्धि भैरहेको थियो । यस वर्ष गत वर्षको तुलनामा घुम्न आउनेको संख्या २५ प्रतिशतले बढी पाएका छौं ।’
काउलेमा पाल्पा, नवलपरासी, स्याङ्जा, तनहुँ, रुपन्देही बाट विभिन्न यातायातका साधन मार्फत आउने गरेका छन् । दशैं तिहारको अवसरमा काउले पुग्नेको संख्या अधिक रहने गर्दछ । चैत्र ११ गते देखि लकडाउन भए संगै असार महिना सम्म काउले पूर्ण रुपमा बन्द गरिएको थियो । स्थानियले अन्यत्र बाट आवतजावत गर्न बन्द गरे पनि घुम्नको लागि आउने क्रम बढे पछि बाध्य भएर समितिले भदौ बाट टिकट खोलेको थियो । काउले डाँडा कवुलियति वन कृषि सहकारीका अध्यक्ष नविन्द्र थापा सोतीले आवतजावत बन्द गरे पनि परपर बाट बन्द रहेको थाहा नपाएर घुम्न अाउने गरे पछि बाध्य भएर खोलेको बताउनु भयो । उहाँले भन्नू भयो, ‘ बिस्तारै घुम्न अाउनेहरुको संख्या बढिरहेको थियो । एक्कासी लकडाउन भयो । त्यस पछि पनि थप जोखिम भएकाले हामीले घुम्न आउनेको लागि अहिले नै नखोल्ने भनेका थियो । कोरोनाको विच पनि आउने क्रम नरोकिए पछि हामीले बाध्य भएर खोल्नु पर्यो ।’
उहाँले घुम्न आउनेहरुलाई दुरी कायम गर्न आग्रह गरेको बताउनु भयो । वन बाट अहिले पर्यटन प्रबर्द्धन मात्र नभई स्थानियको आर्थिक सम्बृद्धिमा समेत टेवा पुगेको छ । २ सय ४६ हेक्टरमा फैलिएको कबुलियति पनमा साविक झिरुबास ४ , ६ , ७ , ८ र ९ का २ सय २७ घर उपभोक्ताको आम्दानीको स्रोत बनेको छ । साथै निस्दी गाउँपालिकाले वनलाई गाउँपालिका भित्रको मुख्य पर्यटकिय क्षेत्र संगै आम्दानीको स्रोतको रुपमा लिएको छ ।स्थानिय महिला समुहले सुरु गरेको अम्रिसो खेती बाट सुरु भएको अम्रिसो खेती अहिले काउले वन संगै, मित्याल, सहलकोटमा पनि विस्तार भएको छ ।