उपचारका लागि जुनतारा समाजलाई जापानीज नागरिकको १५ लाख सहयोग

जुनतारा समाजका पदाधिकारीहरुलाई चेक हस्तान्तरण गर्नु हुँदै जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजे)

पाल्पा, जापानीज नागरिक काजुमासा काकीमी (ओके बाजे) ले सवारी दुर्घटनाका घाईतेहरुको उपचारका लागि जुनतारा समाज निस्दी ५ गल्धालाई रकम सहयोग गरेको छ । जुनतारा समाजले सञ्चालन गरेको जिप दुर्घटनाका घाईतेहरुको उपचार खर्चका लागि १५ लाख रुपैयाँ सहयोग गरेको हो ।

गाउँ बाट सहयोग उठाएर तथा ऋण लिएर घाईतेहरुको उपचार गर्दै आएको जुनतारा समाजले खर्च बढ्दै गएका पछि विकल्पमा काठ काटेर रकम जुटाउने निष्कर्स पुगेको थियो । उपचार खर्चको लागि पूर्खाले जोगाएर राखेको देवताको थानको रुख काट्न लागेको थाहा पाए पछि ओके बाजेले जापानीज नागरिकहरु संग आवश्यक रकम जुटाएर सहयोग गरेको हो ।

निस्दी ५ का जनतालाई अत्यावश्यक यातायातको सहजताका लागि समाजले ओके बाजे कै सहयोगमा जिप सञ्चालन गर्दै आएको थियो । त्यस क्षेत्रका जनतालाई विरामी हुँदा होस् या अन्य अप्ठ्यारो पर्दा सेवा दिदै आएको लु १ ज २८८७ नम्बरको बोलेरो जिप गत साउन २७ गते साँझ निस्दी ५ पटकसारमा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा ३ महिने शिशु र ६३ वर्षिय पुरुषको घटनास्थल मै निधन भएको थियो । भने जिपमा सवार ६ जना घाईते भएका थिए । घाईते ५ जना उपचार पश्चात निको भएर घर फर्किए पनि १ जनाको भने अहिले सम्म उपचार भैरहेको छ । ३६ वर्षिय महिलाको भरतपुर मेडिकल कलेज चितवन हुँदै मेडिसिटी हस्पितल काठमाडौमा उपचार गरिएको थियो । स्पाईनल कदमा समस्या भएको उनको काठमाडौमा थेरापी भैरहेको छ ।

रकम अभाव भएपछि स्थानीयले काट्ने तयारी गरेकाे सालकाे बाेट स‌गै (ओके बाजे) । सदियाै‌ देखि पुर्खाले जाेगाउँदै आएकाे रुख अन्तत सरक्षण हुने भएकाे छ ।

घाईतेहरुको उपचारमा हाल सम्म १८ लाख पैतालिस हजार भन्दा बढी खर्च भैसकेको जुनतारा समाजले जनाएको छ । स्थानिय संग ३ लाख सहयोग संकलन गरी बाँकी रकम ऋणमा खोजेर क्लवले उपचार गर्दै आएको थियो । जुनतारा समाजका पूर्व अध्यक्ष नुन बहादुर सारुले इन्स्योरेन्स बाट प्राप्त हुने उपचार वापतको रकम भन्दा बढी खर्च भए पछि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘५ जना घाईतेहरु त निको भएर फर्किसकेको छ । १ जना महिला अझै अस्पताल मै हुनुहुन्छ । अहिले सम्म १८ लाख बढी खर्च भैसक्यो । अझै कति हुने हो टुङ्गो छैन ।’

सारुले उपचार खर्च जुटाउने कुनै विकल्प नभए पछि गाउँमा पुर्खाहरुले जोगाएर राखेको साल काट्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘हामीले कुनै विकल्प नलागे पछि खर्च जुटाउन बाध्य भएर काठ काट्ने निर्णय गरेका थियौ । पछि ओके बाजेले रुख नकाट्नु यसको लागि म आवश्यक पहल गर्छु भन्नु भएपछि निर्णय बाट पछि हट्यौं ।’ जापानिज नागरिक समाजसेवी काजुमासा काकिमीले समाजका पदाधिकारीहरुलाई चेक हस्तान्तरण गर्दै पूर्खाले पुज्दै आएको रुख जोगाउनु हामी सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुले पुर्खादेखि पुजा गर्दै आएका स्थानका पुराना सालको रुखहरु काट्ने निर्णय गर्नु भएको रहेछ । यो खबर जापानीजहरु संग पु¥याएँ । सबैले प्रकृतिको संरक्षणमा चासो देखाउनु भयो । ५ सय जनाले सकेको सहयोग गर्नु भयो त्यही रकम हस्तान्तरण गरेको हुँ ।’ उहाँले क्लवले विगत देखि समाजमा गर्दै आएको कार्य निकै उदाहरणीय र प्रशंसनिय रहेको बताउनुभयो ।

जुनतारा समाजका अध्यक्ष तिल बहादुर बाह्रघरे गाउँमा परेको अप्ठ्यारोमा ओके बाजेले निरन्तर सहयोग गर्दै आउनु भएको बताउनुभयो । उहाँले दुर्घटनामा परेका गाडी निकालेर मर्मतको लागि पठाएको बताउँदै आगामी दिनमा पनि यातायात सेवा दिनका लागि समाज लागि परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?