नगर गौशालामा गोवर्द्धन पर्वत स्थापना गरी पुजा (फोटोमा गोवर्द्धन पुजा)

इमान सिं राना
पाल्पा, यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । पाल्पाको रामपुर ६ तातोपानीधाममा निर्माण गरिएको नगर गौशालामा आईतबार गोवद्र्धन पर्वत स्थापना गरी गाई, गोरु संगै गोवद्धन पूजा गरिएको छ ।

एक महिना अघि देखिको गाईको गोबर बाट ७ फिट अग्लो गोवद्र्धन पर्वत निर्माण गरी कोरोना महामारीका विच पुजा गरिएको हो । गाईहरुलाई छाडा छाड्ने र वेवास्ता गर्ने क्रम बढ्दै गए पछि नगरपालिकाले गाईको संरक्षणको लागि गौशाला निर्माण गरेर गत वर्ष देखि सञ्चालनमा ल्याएको गौशालामा अहिले १ सय २२ भन्दा बढी गाई रहेका छन् । श्राद्धालुहरुले विहानै गौशाला पुगेर गोवद्र्धन पर्वतको पुजा गरी गाईलाई सातु तथा रोटीहरु खुवाएका थिए । पहिलो वर्ष कोरोना महामारीका विच पनि झण्डै ३ सय देखि ५ सय जनाले पर्वत संगै गाईको पुजा गरेको नगर गौशाला समितिले जनाएको छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षा बाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको पण्डित दामोदर भण्डारीले बताउनुभयो । पण्डित दिननाथ भण्डारीले आज गोवद्र्धन पर्वतको पुजा गर्नाले भगवान कृष्ण खुशी हुने बताउनुभयो । उहाँले आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन भएको गौशालाको दिगो सञ्चालनका लागि गत फागुनमा महायज्ञ पनि गरिएको थियो । नगर गौशाला समितिका संयोजक हुमनाथ न्यौपानेले पहिलो वर्ष गोवद्र्धन पर्वत निर्माण गरिएको बताउँदै तातोपानी धामलाई धार्मिक पर्यटनको रुपमा अघि बढाउने लागि परेको जानकारी दिनुभयो । न्यौपानेले पवित्र कालीनदीको किनारमा रहेको गौशालालाई एउटा धार्मिक आस्थाको धरोहरको रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले यस वर्ष कोरोना महामारीका कारण कुनै तामझामका कार्यक्रम नगरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?