पाल्पा, लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति विर बहादुर रानाले २१ औं शताब्दीको आवश्यकता राजनैतिक चेतना भएको बताउनु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिले शुक्रबार रामपुरमा गरेको एक कार्यक्रममा बोल्दै रानाले पछिल्लो समय राजनितीमा भय र भ्रमको खेती मौलाएको भन्दै त्यसलाई चिर्न राजनैतिक चेतनाको खाँचो औल्याउनु भएको हो ।
उहाँले दुई तिहाईको सरकार तर्फ इकिंत गर्दै भन्नु भयो, ‘कम्युनिष्ट पार्टीले विचारलाई छाडेर भय र भ्रममा राजनीति गरि रहेको छ ।’ उहाँले कम्युनिष्ट पार्टीले स्रोत र साधनलाई प्रयोग गरेर एक तर्फी ढंगले पेलेर जान प्रयास गरिरहेको आरोप लगाउनुभयो । रानाले कांग्रेस विचार, विकास र सामाजिक न्यायको राजनिती गर्न चाहेको बताउनुभयो । उहाँले नेकपालाई लोकतन्त्र आद्यावधिक निर्वाचन हो भन्ने हेक्का राख्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रतिपक्षले जनमतको कदर गर्दै दुई तिहाईको सरकारलाई विना अवरोध काम गर्ने वातावरण दिदा पनि जनतालाई अाभाष हुने गरी परिवर्तन ल्याउन नसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीमा विचार र आस्था एक ठाउँमा भए पनि तर व्यवहारमा परिवर्तन नदेखिएको बताउनुभयो । थापाले पछिल्लो समय राजनितीमा नैतिकताको खडेरी पर्दै गएको भन्दै लोकतन्त्र संकटमा परेको बताउनुभयो । रामपुर नगरपालिकाको नेतृत्व जनता संग गरेको प्रतिवद्धतालाई आत्मसात गर्दै अघि बढेको बताउनुभयो । उहाँले जनताको चाहाना अनुसार काम गर्न अझै बाँकी रहेको बताउँदै आफुहरु प्रयत्नशिल रहेको बताउनुभयो ।
न्यू होटेल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको अवसरमा २६ जना युवा तथा महिलाहरु अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नव प्रवेशी युवाहरु प्रितम केसी र शिव प्रसाद अर्यालले आफ्नो भनाई राख्नु भएको थियो । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेस पाल्पाका जिल्ला सदस्य उमानाथ अर्यालको स्वागत र नेपाल तरुण दल रामपुरका सभापति शंकर बहादुर खाँणको सञ्चालनमा भएको हो ।