पाल्पा, २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कोभिड महामारीका विच विभिन्न कार्यक्रमका साथ मनाईएको छ । “कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको हामी सबैको प्रतिवद्धता” भन्ने नाराका सहित यस वर्ष अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको हो ।
पाल्पाका स्थानिय तहहरुले पनि आआफ्नै ढंगले कार्यक्रम गरेका छन् । दिवसको अवसरमा अबसरमा पाल्पाको रामपुरमा पनि कार्ययोजना निर्माण तथा छलफल कार्यक्रम भएको छ । रामपुर नगरपालिकाले नगर स्तरीय अपाङ्गता सरक्षण समिति तथा वडागत समिति तथा सरोकारवाला व्यक्तिहरुको सहभागितामा दिवस अन्तर्गत छलफल कार्यक्रम गरेको हो ।
रामपुर नगरिपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरभित्रका अपाङ्गता भएका नागरिकहरुलाई अात्मनिर्भर बनाउन क्षमता अनुसारको सिप मुलक कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । साथै उहाँले पूर्ण अपाङ्गता भएकाहरुको लागि छुट्टै व्यवस्था गरिने बताउनुभयो । उहाँले संविधानले गरेको व्यवस्था अनुसार अपाङ्गता भएका नागरिकहरुको लागि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
छलफलमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको लागि राज्यले गरेको व्यवस्था, ऎन नियम, नगरपालिकाले कार्यान्वयनमा ल्याएको अपाङ्गता कार्यबिधी तथा नगरले गरेको काम बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकाले पनि अावश्यक नीति तथा कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
उपप्रमुख घिमिरेको अध्यक्षतामा भएको छलफलमा नगरका अपाङ्गता अभिभावक मैत्री संघ तथा वडा स्तरिय समितिका पधाधिकारी सहभागी थिए । छलफलले वडा वडामा शिवीर सहित अपाङ्गता कार्यक्रम लैजान योजना तयार पार्ने निर्णय गरेको छ । सोही अबसरमा सामाजिक विकास शाखा अन्तर्गत कृषि शाखा प्रमुख रामहरी पाण्डे, शिक्षा शाखा प्रमुख बिकल काफ्ले महिला शाखा प्रमुख प्रतिमा मल्ल, सिर्जना रेग्मीले अपाङ्गता बिषयमा जानकारी तथा नगरले गरेको कामका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको सन्चालन महिला तथा बालबालिका शाखाका पुजा परियारले गर्नुभएको हो ।
यस्तै अपाङ्गता दिवसको अवसरमा पाल्पाको माथागढी गाँउपालिकाले असक्त नागरिकहरुलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाले ८ वटै वडाका ६८ जना पूर्ण अशक्त नागरिकहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको हो । कम्बल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अपाङ्गता भएका नागरिकहरुलाई अझै पनि समाजले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै यसलाई परिवर्तन गर्नु पर्ने बताउनुभयो । जाडोको समयमा चिसोबाट बचाउन कम्बल वितरण गरिएको अध्यक्ष थापा मगरले बताउनुभयो ।