स्याङ्जामा धान उत्पादनमा वृद्धि


स्याङ्जा, स्याङ्जामा गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक हजार ७ सय ७४ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीका अनुसार २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७ सय ७४ मेट्रिक टन बढी उत्पादन भएको हो । उहाँका अनुसार गत वर्ष १८ हजार १ सय २० हेक्टर क्षेत्रफलमा ६५ हजार ३ सय ३२ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार १ सय ३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १ सय ६ मेट्रिक टन धान उत्पादन भएको हो ।

धान उत्पादन वृद्धि हुनुको मुख्य कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रफल बढ्नुको अलावा आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनुलगायतका कारणले उत्पादनमा वृद्धि भएको हो ।’ जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?