पाल्पा, नेपाली कांग्रेस क्षेत्र नं. १ पाल्पाको बैठक रामपुरमा बसेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नु भएको असंवैधानिक कदमको विरुद्धमा केन्द्रले आह्वान गरेको सोमबारको निर्वाचन क्षेत्र स्तरिय विरोधका कार्यक्रमको बारेमा छलफल गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. १ पाल्पाका उपसभापति सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं. १ को विरोध कार्यक्रम रामपुरमा गर्ने निर्णय गरेको छ । विरोध सभा अन्तर्गत ११ बजे ¥याली सहित बेझाँड बजार चोकमा विरोध सभा गर्ने कार्यक्रम तय भएको उपसभापति पोखरेलले जानकारी दिनुभयो । साथै बैठकले क्षेत्र नं. १ भित्रका क्षेत्र, प्रदेश, पालिका तथा वडाका पार्टीका पदाधिकारी, भातृसंघ संगठनका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक एवं प्रधानमन्त्रीले रोजेको असंवैधानिक कदमको विरुद्धमा रहेका सम्पूर्ण जनतालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
गणेशमान स्मृति भवनमा बसेको बैठकमा बोल्दै नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले प्रधानमन्त्रीले ओलीले चालेको कदमले प्राप्त उपलब्धीको धज्जी उदाएको बताउनुभयो । उहाँले संसद विघटन लोकतन्त्रको लागि घातक हुने भन्दै लोकतन्त्रलाई बचाउन सबै नेपाली पुन एक पटक जुट्ने बेला आएको बताउनुभयो । बैठकमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी विष्णुमायाँ ढकाल, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क का सचिव अर्जुन प्रसाद रेग्मी, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, सचिव चिरन्जीवि सिग्देल, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी हुमनाथ न्यौपाने, नेपाल तरुण दल पाल्पाका सहसचिव कुमार खाँण, नेपाल तरुण दल क्षेत्र नं. १ का सभापति प्रेम प्रकाश श्रेष्ठ, नेपाल महिला संघ रामपुरका सभापति सारदा आचार्य, उपसभापति सावित्रा गैरे, नेपाल तरुण दल रामपुरका सचिव मन बहादुर नेपाली लगाएतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । केन्द्रिय कार्यसमितिको निर्णय अनुसार सोमबार देशैभरका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम हुँदैछ ।