आज ४५ औं राष्ट्रिय मेलमिलाप दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


पाल्पा, आज ४५ औं राष्ट्रिय मेलमिलाप दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्कनुभएको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देश सहित नेपाल फर्किनु भएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

त्यसपछि २०२५ सालमा वीपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर मेलमिलापको नीति बोकेर नेपाल आउनुभएको वीपी सहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस तथा कांग्रेसका भातृ संघ, संगठनहरुले मेलमिलाप दिवस विशेष कार्यक्रम गर्दैछ । कांग्रेस जिल्ला कार्य समिति पाल्पाले तानसेनमा र नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले गणेशमान स्मृति भवन रामपुरमा दिउँसो १बजे कार्यक्रम हुने नगर सभापति नेत्र भट्टराई ले जानकारी दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?