पाल्पा, आज बाट अंग्रेजी नयाँ वर्ष सन २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो ।
अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिका सँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
ईस्वी संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि यता नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विश्वभर नयाँ वर्षको उल्लासमय शुभारम्भ भईरहेका बेला नेपाल तथा विश्वभर रहेका नेपालीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाईदै आएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। यस वर्ष आठौं अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाईदैछ । नेपाली टोपी बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पा ढाका सँग जोडिएको छ। विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
आज नयाँ वर्षसँगै, आठौं अन्तराष्ट्रिय ढाका टोपी दिवसको अवसरमा पनि विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट पनि शुभकामना साटासाट गरिरहेका छन् । नयाँ वर्ष मनाउन पोखरा, काठमाडौँ, धुलिखेल, चितवनको सौराह, नगरकोट, बन्दीपुर लगायतका स्थानहरुमा कोभिडका विच आन्तरिक तथा वाह्य पर्यटकहरु पुगिरहेका छन् ।