पाल्पा, गत वर्ष देखि आलु उत्सव मनाउन सुरु गरेको रामपुर नगरपालिका ६ मा यस वर्ष आलु ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्ला मै पहिलो पटक आलु ब्लक कार्यक्रम सञ्चालन भएको हो ।
लुम्बिनी प्रदेश सरकार एक नगर एक उत्पादन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पा मार्फत विजयपुर कृषि सहकारीले आलु ब्लक अन्तर्गत वडा नं. ६ को सातविसे सेरा, प्याकलुक क्षेत्रमा ६ सय रोपनीमा अालु लगाएको छ । भने ६ नं. को विजयपुर, गैटार, कौवा, कंडेल कुलो, तिलकपुर लगाएतका स्थानमा ६ सय रोपनीमा कृषकहरुले वडा तथा रामपुर नगरपालिका कृषि शाखाको सहयोगमा आलु लगाएका छन् ।
विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीले जिल्ला मै पहिलो पटक रामपुरमा आलु ब्लक निर्माण गरिएको बताउनु भयो । उहाँले ज्ञान केन्द्रको २३ लाख र कृषकहरुको २३ लाख गरि ४६ लाखमा ब्लक निर्माण गरेको बताउनु भयो । ब्लक अन्तर्गतका किसानहरुलाई बीउ, मल, यन्त्र तथा विषादीहरु उपलब्ध गराएको बताउनुभयो । गत वर्ष आलु उत्सव अन्तर्गत वडा नं. ६ ले २ सय ३२ बोरा किसानको आलु संकलन गरि अनुदानमा भण्डारण गरिदिएको थियो । सो आलुको बीउ संगै वडाले छुट्याएको यस वर्षको ४ लाख, नगरपालिका बाट थप २ लाख ५० हजार रकमले ६ सय रोपनीको लागि ५० प्रतिशत अनुदानमा अालुको बीउ,५६ प्रतिशत अनुदानमा युरिया, २८ प्रतिशतमा डिएपि र ३५ प्रतिशत अनुदानमा पोटास उपलब्ध गराएको वडा नं.६ का सचिव बासुदेव ढकालले बताउनुभयो । उहाँले कृषकहरु उत्साहित भएर व्यक्तिगत र सामुहिक रुपमा अालु खेतीमा लागेको बताउनुभयो ।
वडालाई आलुमय बनाउन लागि परेका कृषकहरुलाई धन्यवाद दिदै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एवं नगरका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले यस वर्ष ११ सय टन भन्दा बढी आलु उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले उत्पादन भएका आलु प्रयोग गर्न र जति विक्छ विक्री गर्न किसानलाई दिने र बाँकी बीउ एवं अन्य आलु व्यवस्थापनको जिम्मा वडा र नगरले लिने बताउनुभयो । आलुखेतीको लागि रामपुर नगरपालिका कृषि शाखाले प्रविधिक सहयोग प्रदान गर्दै आएको छ ।
आलु खेतीको अनुगमन
चिसो बढे संगै आलुखेतीमा समस्या देखिन सक्ने भन्दै आज रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित प्रविधिकहरुको टोलीले रामपुर ६ का किसानहरुको आलुबाली सहित आलु ब्लकको निरिक्षण गरेको छ । कृषकहरुको बारी मै पुगेर आवश्यक परामर्श दिने लक्ष्यका साथ निरिक्षण गरेको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यको नेतृत्वमा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डे, प्राविधिक प्रज्वल केसी, वडा सदस्य यम बहादुर भुजेल, थिरलाल ढकाल, वडा सचिव बासुदेव ढकाल, ईन्जिनियर शंकर कंडेल, विजयपुर कृषि सहकारी अध्यक्ष ओम प्रकाश रेग्मी पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमन गर्दै कृषि शाखा प्रमुख रामहरि पाण्डेयले कृषकले बोलाएका बेला र अन्य बेला समेत प्राविधिक ज्ञान दिईरहेको बताउनुभयो । उहाँले अहिले टुसारो परिरहेकाले पनि बालीमा समस्या देखिन सक्ने भएकाले पुर्वतयारी गर्न किसानलाई अनुरोध गर्नुभयो । टोलीले विजयपुर, सेरा सातविसे खेत र प्याकलुक क्षेत्रमा लगाईएको आलुबालीको अवलोकन गरेको थियो ।