सहयोगी बचत तथा ऋण सहकारीको आठौं साधारण सभा सम्पन्न

पाल्पा, सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आठौं साधारण सभा सम्पन्न भएको छ । शेयर सदस्यहरु मार्फत प्राप्त सुझाव माथि छलफल संगै सहकारी मर्ज सम्बन्धी २८ बुँदे कार्यविधी पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संग मर्जका लागि निर्माण भएको कार्यविधी माथि छलफल पश्चात कार्यविधी पारित गरेको हो । होटेल श्रीनगरको सभाहलमा भएको साधारण सभामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमख रमण बहादुर थापाले सरकारको नीति अनुसार सहकारीको व्यवस्थापनको लागि नगरपालिका लागि परेको बताउनुभयो । उहाँले रामपुरमा हुन गैरहेको मर्जर कार्यक्रमले एउटा सन्देश दिने बताउँदै यसरी नै एउटै उद्देश्य भएका सहकारीहरुलाई मर्जरको प्रक्रियामा जान प्रोत्साहन गरिने बताउनुभयो । साथै थापाले आउने नगरसभाले कार्यविधी पारित गर्न लागेको बताउनुभयो ।

उहाँले नगरका सहकारीहरुको संस्थागत विकासका लागि कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले उद्यमी बन्न आग्रह गर्दै रामपुर नगरपालिकाले पनि यस वर्ष सहकारी बाट युवा स्वरोजगारको लागि ऋण प्रवाह गर्न लागेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले मर्जको प्रक्रियामा जाँदा शेयर सदस्यहरुलाई यसका बारेमा बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले ऋण प्रवाह पछि उद्देश्य अनुरुप कार्य भयो कि भएन अनुगमन गर्नु आवश्यक रहेको बताउनुभयो । रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्लले राज्यको नीति अनुसार सहकारी मर्जको कुरा आउनु खुशीको कुरा भएको बताउनुभयो ।

संस्थाका सल्लाहाकार नेत्र प्रसाद भट्टराईले सहकारीले एउटै उद्देश्य भएका संस्था संग मर्जर गर्नु खुशीको विषय भएको बताउनुभयो ।संस्थाका सञ्चालक समितिका सदस्य दुर्गा प्रसाद भट्टराई, शेयर सदस्यहरुको तर्फ बाट दुर्गा प्रसाद पोखरेलले संस्थाले चालेको कदमले थप उत्साह जगाएको बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव राम प्रसाद ढकालले सहकारी मर्जको बारेमा भएका २८ बुँदे सहमतिका बारेमा प्रकाश पार्दै संस्थाको अवस्थाको बारेमा जानकारी दिनु भएको थियो । संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सहकारी पाउने र गुमाउने भन्दा पनि सबैको अधिकार समान रहने गरी मर्जरमा जान लागेको बताउनुभयो । उहाँले सम्पूर्ण प्रक्रिया सकिएर मर्जर कार्यान्वयनको अन्तिममा पुगेको बताउनुभयो ।

सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  ढकालको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सदस्य सावित्रा गौतमको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई व्यवस्थापक रामचन्द्र ढुङ्गानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गर्नु भएको हो । संस्थामा हाल ५ सय ६५ जना शेयर सदस्य रहेका छन् । कार्यक्रमको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सदस्यमा निर्विरोध चयन हुनु भएका संस्थाका अध्यक्षलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?