साँखरमा रक्तदान तथा भवन उट्घाटन कार्यक्रम सम्पन्न


स्याङ्जा , चापाकोट नगरपालिका–६ साँखर स्याङ्जामा रक्तदान तथा भवन उट्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

माघेसक्रान्ति संगै योग दिवसको अवसरमा ग्रामिण साहारा समाज चापाकोटको आयोजना र नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा पोखरा संगको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । यसै अवसरमा राधा आमा समुहको भवन पनि उट्घाटन भएको थियो ।

भवन उट्घाटन संगै रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गर्दै गण्डकी प्रदेशका सांसद भगवत प्रकाश मल्लले क्लवले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै सक्रिय युवा तथा महिलाहरु बाट नै समाज रुपान्तरण सम्भव रहेको बताउनुभयो । मुलुकको वर्तमान राजनैतिक अवस्थाको बारेमा आफ्नो धारणा सहित विकासका बारेमा बोल्दै मल्लले लामो समय देखि रोकिएको गल्याङ–चापाकोट पिचको काम अघि बढेको बताउनुभयो । उहाँले गण्डकी बेसी क्षेत्रको विकासको आधार कालीगण्डकी नदी रहेको भन्दै कुनै पनि हालतमा ड्राईभर्सन हुन नदिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ का सभापति देव बहादुर खाँण ईश्वरले रगतको अभाव परिपूर्तिको लागि क्लवले चालेको कदम निकै प्रशंसनिय रहेको बताउनुभयो । चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठले विकास संगै समाज रुपान्तरण गर्नका लागि महिला समुह र क्लवहरु संग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो । कार्यक्रममा चापाकोट नगरपालिका ६ का वडा अध्यक्ष एकदेव भट्टराई, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ प्रदेश ख का सभापति हरिबाबु पोखरेल, नेपाली कांग्रेस नगर सभापति रामचन्द्र पंगेनी, चापाकोट नगरपालिका ७ का वडा सचिव मञ्जु गैरेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञावलीले रक्तदानको महत्वका बारेमा जानकारी दिनुभएको थियो । ‘आत्म साक्षी राखी मन वचन कर्मले सेवा गरौं, लोप हुन लागेका सस्कृतिको जगेर्ना गरौं ।’ भन्ने उद्देश्यका साथ अघि बढेको क्लवले चापाकोट नगर मै पहिलो पटक रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।

त्यस्तै राधा आमा समुहका अध्यक्ष मठुरा भट्टराईले गण्डकी प्रदेश र चापाकोट नगरको सहयोगमा भवन सम्पन्न भएको बताउनुभयो । उहाँले भवन निर्माण संगै महिला समुह तथा युवा क्लवलाई आवश्यक छलफल एवं आयआर्जनका तालिम सञ्चालन गर्न सहज हुने बताउनुभयो । रक्तदान कार्यक्रम समाजका अध्यक्ष भण्डारी र राधा आमा समुहका अध्यक्ष भट्टराईको संयुक्त अध्यक्षतामा भएको थियो । ग्रामिण साहारा समाजका पुर्व अध्यक्ष प्रमोद पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई चापाकोट नगरपालिकाका सल्लाहाकार ज्ञानेश्वर बस्टाकोटीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन ग्रामिण साहारा समाजका सचिव विश्वनाथ भट्टराई र तारादेवी पोखरेलको सञ्चालनमा भएको हो । यस्तै समाजको आयोजनामा प्रौढ भलिबल प्रतियोगिता भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?