कौसीमा बगैँचा विस्तार गर्दै सावित्रा


इमान सिं राना
पाल्पा, १० धुर जमिनमा बनेको एक तले चिटिक्कको घर । कम्पाउण्ड भित्रको केही खाली भागमा धुपी संगै, सो प्लान र सयपत्री फक्रिएको छ । तर खाली भागमा मात्र होइन घर सहित १० धुर क्षेत्रफल फूल तथा तरकारी बगैँचाले भरिएको छ ।

यसो भन्दै गर्दा तपाईलाई लाग्न सक्छ १० धुरको जग्गामा घर पनि छ । भएको क्षेत्रफल बराबर नै बगैँचा कसरी सम्भव छ ? तिलोत्तमा ५ मणीग्राम सिद्धार्थपथ रुपन्देहीका २९ वर्षिया सावित्रा भण्डारीले सम्भव गराईदिनु भएको छ । यो मात्रै होईन उहाँले फूल तथा तरकारी लगाउन घर बाहेक अरु जमिन छैन भन्नेहरुको लागि उदाहरण प्रस्तुत गर्नु भएको छ । फूल बगैँचा संगै तरकारी खेतीमा रुची भएको सावित्राले एक तलेघरको कौसीमा बगैँचा बनाएर नमुना पाठ सिकाउनु भएको हो । कृषि प्रधान देशमा खेती योग्य जमिन बाँझो रहने र युवा जनशक्ती विदेश पलाएन भैरहेको अबस्थामा घरको छतमाथि कौसीमा खेती गरी सन्देश दिनु भएको हो ।

उहाँको कौसी कोकोपिट सहितको प्लष्टिक थैलो र ड्रम, विभिन्न प्रजातिका फुल तथा तरकारीहरुले भरिएको छ । कौसीमा धुपी, सयपत्री, गुलाव, सोप्लान मौसमी तरकारी मात्र होईन स्याउको बिरुवा समेत लगाउनु भएको छ । लकडाउन अघि भएको फेन्सी पसल विक्री गरे संगै बाँकी समय खाली हुन थाले पछि उहाँले कौसी मै बगैँचा बनाउन सुरु गर्नु भएको थियो । उहाँले भन्नुभयो, “लकडाउन अघि पसल विक्री गरे पछि खाली समयमा के गर्ने भन्ने सोचमा थिएँ । गाउँमा बाबा आमा तरकारी लगाउन सिके पनि खेती गर्न घर बाहेक अरु जग्गा थिएन । त्यस पश्चात कौसी मै खेती गर्ने निर्णय गरे ।“ सुरुमा उहाँले कौसी बगैँचा सुरु गर्दै गर्दा अन्यले घरको छठ विग्रीन्छ नभनेका पनि होईनन् । तर उहाँले हलुका हुने कोकोपिट प्रयोग गरि कौसीमा खेती सुरु गर्नु भयो ।

अहिले भने कौसीमा कसरी निर्माण गर्ने, सामान कहाँ बाट ल्याउने भनेर धेरैले जिज्ञासा राख्ने गरेको सावित्रा बताउनु हुन्छ । उहाँको बगैँचामा अहिले फूल फक्रिरहेको छ । तरकारी पनि तयार भएको छ । ४/५ महिना अघि सम्म बाहिर बाट तरकारी किनेर खाए पनि त्यस यता आफ्नै कौसीको तरकारीले उहाँको परिवारलाई पुगेको छ । केही माला तयार गर्नको लागि फूलको अभाव छैन । अहिले सम्म १ लाख बढीको लगानी गर्नु भएको उहाँले अहिले सुरुवात मात्र रहेको र यसलाई थप व्यवस्थित रुपमा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले केही फूल र तरकारी लगाएको छु । अब कौसीभरी फूलैफूल र फलफूलको बिरुवा लगाउने तयारी गदैछु ।“ अहिले सुरुवात चरणमा भएकाले उत्पादन केही मात्रामा रहेको छ । तर धेरैले सकारात्मक प्रतिक्रिया संगै सिकाउनको लागि आग्रह गरिरहेको उहाँको भनाई छ ।

छोरा र छोरी संगै हिजोआज उहाँको दिन कौसीको फूल तथा विरुवाको हेरचाहमा वित्दै आएको छ । “बाबुनानीलाई स्कुल पठाए पछिको बाँकी समय कौसी मै विताउँदै आएको छु । व्यस्तता बढेको छ ।“ उहाँले भन्नुभयो । बजार क्षेत्रमा जग्गाको नाममा घर मात्र रहेको तर दिन भरी समय खाली हुने महिलाहरुलाई कौसी खेतीमा लाग्न समेत सुझाव दिनुहुन्छ । उहाँले खाली समय मोबाईल चलाएर विताउनु भन्दा कौसी खेतीमा लाग्यौ भने शरिर स्वास्थ्य पनि रहने र ताजा तरकारी खान पाईने बताउनुभयो ।

विगत लामो समय देखि वैदेशिक रोजगारको क्रममा युएईमा रहनु भएको श्रीमानलाई पनि स्वदेश मै व्यवसाय सञ्चालनको लागि बोलाउन लाग्नु भएको छ । युवा स्वदेशमा अवसर नदेखेर विदेश पलायन भैरहेको अवस्थामा जति बिदेशमा पसिना बगाउछौ त्यतिनै मिहिनेत गरे स्वदेसमै सुन फलाउन सकिने बताउनुभयो । विदेश गएका महिलाहरु मध्ये केहीले राम्रो प्रगति गरेपनि केहीले भने चरम यातना पाइरहेको भन्दै सिपमुलक तालिम लिएर स्वदेशमै प्रयाप्त मात्रामा रोजगार सृजना गर्न सकिने सम्भावना रहेको उहाँ बताउनु भयो ।

सावित्राले यस अघि पनि फूलमालाको लागि टोलका महिला समूह संग मिलेर सामुहिक फूलखेती गर्दै आउनु भएको थियो । संगै आफ्नो टोललाई हरियाली बनाउन एक घर एक बगैँचा अभियान थाल्नु भएको थियो । अहिले सिद्धार्थ पथका घरहरुमा बगैँचा निर्माण भैरहेको छ । उहाँले गाउँ समाज परिवर्तन अरुले गर्देला भनेर सरकारलाई गाली गर्नु भन्दा आफै बाट सुरुबात गर्नु पर्ने बताउनुभयो । कौसी खेतीले दैनिक भान्सा बाट निस्कने फोहर मैला व्यवस्थापनमा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?