रामपुरमा स्टेज उद्घोषण, भाषण कला तथा पत्रकारिता तालिम सुरु


पाल्पा, स्टेज उद्घोषण, भाषण कला तथा पत्रकारिता सम्बन्धी ५ दिने तालिम पाल्पाको रामपुर सुरु भएको छ । सीताकुण्ड मिडिया प्रालि रामपुर पाल्पाको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पत्रकारिता समाजको ऐना रहेको बताउनुभयो । समाजको विकासका लागि पत्रकारिताको विकास अपरिहार्य रहेको बताउँदै समाजमा हुने घटनाको तथ्यपरक ढंग बाट उजागर गर्न सकेमा समाज रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले तालिमले आफ्नो कला र क्षमता उजागर गर्नको लागि वाककलाको आवश्यक रहेको बताउँदै यसको लागि पनि तालिमले सहजता प्रदान गर्ने बताउनुभयो ।

होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले व्यक्तित्व विकासको लागि बोल्ने शैली र आत्मविश्वास महत्वपूर्ण रहेको भन्दै यस्ता तालिमहरुले निकै महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । इलाका प्रशासन कार्यालय रामपुर पाल्पाका प्रमुख ईश्वरचन्द्र अर्यालले समाजलाई कुन दिशा तर्फ लैजाने भन्ने कुरा पत्रकारितामा निर्भरहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मुलुकको समृद्धिको लागि पत्रकारिता क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै यसका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, तालिमका प्रशिक्षक नारायण न्यौपाने, पत्रकार एवं रामपुर नगरपालिका वडा नं. ६ का वडा सचिव बासुदेव ढकाल, सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छवि खनालले बोल्दै तालिम सफलताको शुभकामना दिनु भएको थियो । सीताकुण्ड मिडिया प्रा.लि.का अध्यक्ष तथा कटुवाल खबर डटकमका सम्पादक दुर्गेश मल्लको अध्यक्षतामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रालिका सञ्चालक सदस्य एवं कटुवाल खबर डटकमका सह–सम्पादक इमान सिं रानाको स्वागत बाट सुरु भएको थियो ।

कार्यक्रमको संचालन मिडिया प्रा.लि.का सञ्चालक एवं कटुवाल खबर डटकमका लेखसम्पादक दानु हिस्की मगरले गर्नु भएको थियो । तालिममा रामपुर क्षेत्रका ७० जनाको सहभागिता रहेको तालिम यही माघ ११ गते सम्म सञ्चालन सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?