पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको क्याम्पस सभा सम्पन्न गरेको छ । गण्डकी बेसी क्षेत्र कै पहिलो क्याम्पसले शुक्रबार क्याम्पस सभा सम्पन्न गरेको हो ।
सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ज्ञान आर्जन संगै व्यवहारिक प्रयोगमा ल्याउन सके मात्र शिक्षाको उद्देश्य पुर्ति हुने बताउनुभयो । उहाँले विद्वान संगै व्यवहारिक हुनु आवश्यक रहेको बताउनुभयो । थापाले व्यवहारिक ज्ञानको लागि समय अनुसारको प्राविधिक शिक्षामा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । साथै उहाँले प्राविधिक शिक्षाको लागि रामपुर नगरपालिका प्रतिवद्ध भएर लागेको जानकारी दिदै क्याम्पसको विकासमा पालिका सदा हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले अब क्याम्पसलाई कसरी आत्मनिर्भर बनाउने भन्ने तर्फ सबैले सोच्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य भेष बहादुर बंशीले समय सापेक्ष शिक्षा प्रदान गर्दै जानू आवश्यक रहेको भन्दै समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले राजनीतिलाई भन्दा पनि क्याम्पसलाई कसरी लैजाँदा उपयुक्त हुन्छ छलफल गरेर अघि बढ्न आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य राजु प्रसाद श्रेष्ठले राजनितीलाई सन्तुलन गरेर जानु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्ण प्रसाद अधिकारीले कामलाई प्राथामिकता दिनु आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराईले सबैको सहकार्य बाट नै क्याम्पसको विकास सम्भव रहेको बताउनुभयो ।
नेपाली कांग्रेस रामपुरका सचिव चिरञ्जीवी सिग्देलले राजनीति भन्दा बाहिर हेर्न आग्रह गर्नुभयो । कार्यक्रममा पूर्व सञ्चालक समितिका अध्यक्ष एवं वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले शहीदको अवमुल्यन भैरहेको प्रति दुख प्रकट गर्नुभयो । क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले विगतको तुलनामा क्याम्पसले अहिले ठूलो फड्को मारेको बताउनुभयो । त्यस्तै कार्यक्रममा समाजसेवी विष्णु मायाँ ढकाल, क्याम्पस सञ्चालक समितिका सदस्य दिवाकर देवकोटा, प्रध्यापक संघका सभापति दयाराम भट्टराई, शहीद बहुमुखी क्याम्पसका स्ववियु सभापति जिवन तिवारी र सचिव मदन आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन संगै भावि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसका लेखा अधिकृत प्रकाश चन्द्र सिग्देलले २ करोड ९९ लाख ३८ हजार बराबरको गत वर्षको आयव्याय सहित आगामी वर्षको लागि प्रस्तावित आयव्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष देवराज ढकालको अध्यक्षता, उपाध्यक्ष नेत्र प्रसाद भट्टराईको स्वागत, सहायक प्रध्यापक त्रिविक्रम खनालको धन्यवाद र प्रध्यापक सुर्य प्रसाद घिमिरेको सञ्चालनमा भएको हो । क्याम्पस सभाले नयाँ सञ्चालक समिति चयन गर्नेछ ।