पत्रकार महासंघ राष्ट्रिय हित देखि नागरिक हितको पक्षमा पैरवी गर्ने संस्था हो : अध्यक्ष आचार्य

पाल्पा, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ प्रेस स्वतन्त्रता संगै राष्ट्रिय हित देखि नागरिक हितको पक्षमा पैरवी गर्ने संस्था रहेको बताउनुु भएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ अौं साधारण सभाको उट्घाटन संगै शाखामा स्थापना भएका पुरस्कारहरु वितरण गर्दै आचार्यले महासंघ नेपालको पहिलो नागरिक अगुवा संस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रको हकहित र अधिकार, मिडिया हकहित, प्रेस स्वतन्त्रता, राष्ट्रिय हित र नागरिक हितमा एड्भोकेसी गर्ने संस्था नेपाल पत्रकार महासंघ हो ।” उहाँले प्रेस स्वतन्त्रता संगै गणतन्त्र स्थापनामा महासंघको भुमिका अतुलनिय रहेको भन्दै मुलुकका जनतामा वर्तमान परिस्थितिले आशंका उब्जाएको बताउनु भयो । आचार्यले भन्नुभयो, “अहिलेको कदमले लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामा आशंका जन्माएको छ तर अहिले नै अर्को व्यवस्था होला भन्ने छैन ।” उहाँले पाल्पाको पत्रकारिता देश मै उदाहरणिय रहेको बताउनु भयो । उहाँले बाँकी रहेका ८ जिल्ला संगै ७ प्रदेशमा साधारण सभा सम्पन्न पश्चात १ महिनामा केन्द्रीय साधारण सभा हुने बताउनुभयो । उहाँले त्यस पश्चात प्रत्यक्ष निर्वाचन मार्फत मिति तय गरिने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष एवं प्रजातन्त्र सेनानी मेघराज शर्माले प्रविधिको विकास भए पनि पत्रकारको समस्या उस्तै रहेको भन्दै यस तर्फ सोच्ने समय आएको बताउनु भयो । उहाँले पारिश्रमिक निर्धारण समिति उपत्यकामा केन्द्रित हुँदा मोफसलको सञ्चार कर्मी समस्यामा परेको बताउनुभयो । लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद आचार्यले पत्रकारिताले द्वन्द बढाउने नभई समाधान गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले पत्रकारिता क्षेत्रको विकासको लागि सरोकारवालाहरुले सोच्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शक्तिको भरमा कुनै पनि कुरा सत्यमा रुपान्तरण हुने होकी भन्ने त्रास बढेको भन्दै सचेत हुनु पर्ने बताउनुभय‍ो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले पाल्पाली पत्रकारिताले समग्र मुलुकको पत्रकारिताको गरिमा उच्च बनाएको बताउनुभयो । रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले नयाँ प्रतिभालाई उजागर गर्दै संस्थागत विकासमा जानु पर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पाल्पाली पत्रकारिताले विकास संगै सुशासनको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले मुलुक हरेम परिवर्तनमा पत्रकारिता क्षेत्रले खेलेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रेवन्त बहादुर विष्ट र राष्ट्रिय जनमोर्चा पाल्पाका नरमति सिंजालीले राजनैतिक भन्दा बाहिर रहेर पत्रकारिता गर्दै समाजको विश्वास जितेर काम गर्न आग्रह गर्नुभयो ।

गैर सरकारी संस्था महासंघका भेषराज तिमिल्सिना, नेपाल रेडक्रस सोसायटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, युनाईटेड मिसन अस्पतालका अध्यक्ष डाक्टर रचेल कारक, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवी प्रसाद भट्टराई, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, ग्रामीण अार्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताएका थिए । पुरस्कृत पत्रकार मध्ये बाट देव पचभैयाले अब पत्रकारहरुको भविष्यवृतिको लागि सोच्नु पर्ने समय आएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले पुरस्कार वितरणको बारेमा जानकारी दिनु भएको थियो । होटेल पौवाको सभाहल तानसेनमा भएको साधारण सभा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, पुर्व अध्यक्ष भगवान भण्डारीको धन्यवाद र सचिव किरण कौशलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?