रामपुर ६ का सरोकारवालाहरुले गर्यो आलु महोत्सवको अवलोकन

पाल्पा, आलु खेती प्रवर्द्धनमा निरन्तर लाग्दै आएको रामपुर नगरपालिका ६ नं. वडा कार्यालयका सरोकारवालाहरुले शनिबार आलु महोत्सवको अवलोकन गरेको छ । वडा अध्यक्ष हुमनाथ न्यौपानेको नेतृत्वमा गएको अवलोकन टोलीले स्याङ्जाको भीरकोट नगरपालिका –५ पकान भएको प्रथम आलु महोत्सवको अवलोकन गरेको हो ।

वडामा उत्पादन भएका आलुको बजारिकरण संगै उचित व्यवस्थापनको लागि आवश्यक योजना तथा कार्यक्रम सञ्चालनको बारेमा आवश्यक ज्ञान लिनका लागि सरोकारवालाहरु भिरकोट पकान पुगेको थियो । टोलीमा रामपुर नगरपालिकाका कृषिशाखा अधिकृत रामहरी पाण्डेय, रामपुर नगरपालिका ६ का सल्लाहाकार सुन्दर प्रसाद देवकोटा, वडा नं. ६ का वडा सदस्य थिरलाल ढकाल, यम बहादुर भुजेल, विजयपुर कृषि सहकारीका अध्यक्ष ओम प्रकाश रेग्मी, वडा सचिव बासुदेव ढकाल र पत्रकार इमान सिं रानाको सहभागीता रहेको थिय‍ो ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शुक्रबार र शनिबार महोत्सव सञ्चालन भएको थियो । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएको पकानमा महोत्सवस्थल बाटै वारि बाट खनेर ल्याईएका आलुको खरीद बिक्री भएको थियो । साथै आलु बाट बन्ने विभिन्न परिकार बनाएर विक्री वितरण गरिएको थियो ।

रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेको नेतृत्वमा गएको अवलोकन टोलीलाई भिरकोट–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले महोत्सवका बारेमा जानकारी दिनुभएको थियो । अधिकारीले पकान क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगत रुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएको र सोही उत्पादन भएको आलुको प्रवर्द्धन र बजारिकरणको लागि महोत्सव सञ्चालन गरिएको बताउनुभयो । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे तिवारीले स्वादका दृष्टिले र गुणस्तरियताका आधारमा पकानमा राम्रो आलु फल्ने गरेको र आलु खेतीको सम्भावना, प्रचारप्रसारका साथै यहाँको किसानको हौसला बढाउनका लागि महोत्सव सञ्चालन गरिएको बताउनुभयो ।

महोत्सवमा वारि बाटै खनेर आलु विक्री गरिनुका साथै आलुका परिकार तयार पारेर विक्री भएको थियो । साथै कृषि अौजार, स्थानीय उत्पादनको विक्री संगै कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

रामपुर नगरपालिकाको वडा नं.६ मा मात्रै कृषि ज्ञान केन्द्रको सहयोगमा विजयपुर कृषि सहकारीले ६ सय रोपनीमा र वडा तथा नगरको सहयोगमा ६ सय रोपनी गरि १२ सय रोपनीमा आलु लगाईएको छ । नगरका अन्य वडाहरुमा पनि आलु पकेट कार्यक्रम सञ्चालनमा रहेको छ ।

यस्तै टोलीले वालिङ नगरपालिका १ खहरेमा पुगेर अन्तरक्रिया गरेको छ । वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष केदार काफ्ले संग अन्तरक्रिया गरेको हो । वडा अध्यक्ष काफ्लेले नगर तथा भएका वडा भित्र भएका विकासका गतिविधि, कृषि क्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष न्यौपानेले नगर र वडा भित्रको विकासको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?