पाल्पा, निस्दी गाउँपालिका वडा नं. ५ का गेझा पिपल भञ्ज्याङ्ग टोलका सबै घर परिवारको स्वास्थ्य बीमाको पहुँचमा पुगेको छ । टोलका स्वास्थ्य विमा गर्न बाँकी रहेका ४२ परिवारको जुनतारा समाज गल्धाले जापानिज नागरिक ओके बाजेको आर्थिक सहयोगमा स्वास्थ्य विमा गरीदिए संगै सबै परिवार स्वास्थ्य बीमाको पहुँचमा पुगेको हो ।
टोल भित्रका ७६ परिवार मध्ये अन्य परिवारको आ-आफैले बीमा गरे पनि आर्थिक विपन्नता र विमा सचेतनाको अभावमा ४२ परिवार स्वास्थ्य विमा भन्दा बाहिर रहेका थिए । जापानिज समाजसेवी काजुमासा काकीमी ओके बाजेले एक कार्यक्रम गरी बीमा कार्ड प्रदान गर्नु भएको थियो । बीमा कार्ड प्रदान गर्दै काकिमीले स्वास्थ्य विमाले आर्थिक अभावमा स्वास्थ्य उपचार सुविधा लिन बाट वञ्चित नागरिकलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा गल्धा स्वास्थ्य चौकीका स्टाफ नर्स नविना भट्टराईले स्वास्थ्य बीमा बाट हुने फाईदाका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै स्वास्थ्य बीमा अभिकर्ता पिपि ठाडाले विमाको प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । ४२ परिवारको बीमाको लागि ओके बाजेले १ लाख १६ हजार सहयोग गर्नु भएको थियो । बाँकी रकम स्थानियहरु स्वयमले भुक्तानी गरेर बीमा गरेको जुनतारा समाजका अध्यक्ष तिल बहादुर खण्डलुकले बताउनुभयो । समाजका अध्यक्ष खण्डलुकको अध्यक्षतामा भएको कार्यक्रम क्लवका सदस्य खुम बहादुर सुनारीको स्वागत र सचिव शेर बहादुर गाहाको सञ्चालनमा भएको थियो ।