वन अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया गोष्ठी रामपुरमा सम्पन्न

 

पाल्पा – सव डिभिजन स्तरिय चोरी कटान , वन अपराध सम्बन्धि अन्तरक्रिया गोष्ठी मंगलबार रामपुर पाल्पामा सम्पन्न भएको छ । सव डिभिजिन वन कार्यालय रामपुर पाल्पाको आयोजनामा यस क्षेत्रलाई वनपैदावर चोरी निकासी रहित कसरी बनाउन सकिन्छ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।

सव डिभिजन बन कार्यालय रामपुर पाल्पाको परिषरमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले अवैध रुपमा काठ कटानी तथा चोरी पूर्ण रुपमा नियन्त्रण गर्नु पर्ने बताउनुभयो । उहाँले समुदाय स्तरका जनतामा कानुनी ज्ञानको कमीका कारण पनि काठको चोरी तथा कटानी बढी हुने गरेको बताउनुभयो ।  रुख विरुवाको संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै कानुनको परिधिमा रहेर ईमान्दारिताका साथ लाग्न सवैलाई आग्रह गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले राज्यको निति कै कारण काठको कटानी र चोरी निकासी बढेको बताउँदै सहजता सहितको नयाँ नितिको व्यवस्था गर्न सके यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले यस क्षेत्रमा ल्होसेको रुपमा रहेको वन बाट बढि काठ कटान र चोरी हुने गरेको बताउनुभयो ।

सव डिभिजन वन कार्यालय रामपुर पाल्पाका प्रमुख सुजनराज भण्डारीले चोरी निकासी नियन्त्रणका लागी वन कार्यालयबाट मात्र सम्भव नभएकोले यसका लागी सवै सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनुभयो । साथै उहाँले यस क्षेत्रमा आफ्नो जग्गा आसपासको ल्होसे क्षेत्रका काठ बढि कटानी तथा चोरी हुने भएकाले त्यसलाई रोक्न चुनौतिको रुपमा रहेको बताउदैँ ल्होसे राष्ट्रिय वन भएकाले काठ नकाट्न आग्रह गर्नुभयो ।

यस्तै ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले रामपुर नगरपालिका भित्र अन्य पालिकाबाट पनि अवैध काठ भित्रिने गरेको पाईएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ले उपभोक्ता नै समस्या र मारमा रहेका कारण पनि बनका काठ चोरी निकासी बढिरहेको बताउनुभयो । कार्यक्रममा सहभागीले सामुदायिक वन उपभोक्तालाई काठ उपयोगको हकमा सहजता ल्याए अवैध कटानी र चोरीलाई न्यूनिकरण गर्न सकिने बताएका थिए ।

कार्यक्रममा नगर भित्रका विभिन्न सामुदायिक वनका पदाधिकारी , फर्निचर व्यवसायी , सेना , प्रहरी र पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया गोष्ठिको सहजिकरण सव डिभिजन वन कार्यालय रामपुर पाल्पाका प्रमुख सुजनराज भण्डारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?