बालज्योतिको नौलो अभ्यास, दिवाखाजामा स्थानीय परिकार

 

इमान सिं राना
पाल्पा, विद्यालयमा बालबालिकाहरुको पोषण सुधार, सिकाई स्तर तथा सहभागीता वृद्धि र स्थानीय कृषि उपज उपभोगलाई वृद्धि गर्न सरकारले देशैभरका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । संघिय सरकारको सशर्त अनुदान अन्तर्गत स्थानीय तह र सम्बन्धित विद्यालयको व्यवस्थापनमा बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरु माझ दिवा खाजा कार्यक्रम लागु भएको हो ।

विद्यालयहरुले आ–आफ्नै तरिकाले खाजा तालिका निर्माण गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारले प्रदान गर्ने प्रति विद्यार्थी १५ रुपैयाँमा , कतै विद्यालय आफैले खाजा तयार गरेर, कतै चमेनागृहलाई जिम्मा दिएर वा कहीँ भने अभिभावक आफैले तयार गरेर खाजा खुवाईदै आएको छ । सरकारले दिवा खाजामा स्थानीय कृषि उपजको उपभोग बढाएर विद्यालय र कृषि उपज विच सम्बन्ध स्थापित गरी प्रतिफल बढाउने लक्ष्य लिए पनि अधिकांश विद्यालयमा आयातित खाजा नै प्राथमिकतामा रहेको देखिन्छ ।

तर रामपुर नगरपालिका १ को एक प्राथमिक विद्यालयमा भने दिवा खाजामा नौलो अभ्यास गरेको पाईएको छ । वडा नं. १ बर्दाकोटमा रहेको बालज्योति प्राथमिक विद्यालयले दिवा खाजामा एक रुपता संगै स्थानीय उत्पादनमा जोड दिएर फरक अभ्यास गरेको हो । विद्यालयले पढाई हुने ६ बारमा स्थानीय स्तरमा उपलब्ध ६ खानालाई राखेर कार्यान्वयन गर्दै आएको छ । अन्य विद्यालयमा खाना, चाउमिन, खिर, हलुवा, चना, अण्डा, दुनोट, समोसा लगाएतका परिकार दिवा खाजामा रहेको पाईए पनि खाजाको मेनुमा मकैको साटु, भुटेको बोडा (सिमी) फलफुल, खाना र दाल, कोदोको रोटी र अण्डा चना रहेको छ ।

विद्यालयमा अध्ययनरत ४७ जना विद्यार्थीहरुले बार अनुसार घर मै तयार भएको खाजा एकै ठाउँमा बसेर खाने गरेका छन् । दिवा खाजा लागु भए संगै विद्यालयले खाजा घर मै तयार गरेर पठाउन अभिभावकलाई आग्रह गरेको विद्यालयका प्रधानाध्यापक रोशन सिं सारुले बताउनुभयो । सारुले भन्नुभयो, ‘हामीले अभिभावकलाई खाजा बनाएर पठाउन त भन्यौ तर सबैको अवस्था समान नभएकाले स्थानीय खाजालाई जोड दिएका हौं ।’ सारुले थप्नुभयो, ‘कसैले मिठो बनाएर पठाउलान कसैले बनाउन नसक्लान्, त्यसो भए पछि त विभेद हुने भैहाल्यो । त्यसैले हामीले समान व्यवहार संगै स्थानीय खाना संग परिचित गराउन यसमा जोड दिएका हौं ।’

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आईतबार मकैको साटु, सोमबार भुटेको बोडा (सिमी), मंगलबार फलफुल, बुधबार दाल र खाना, विहिबार कोदोको रोटी र शुक्रबार चना र अण्डा टिफिनमा बोकेर आउने गर्छन् । सबैको खाजा समान भए पछि उनीहरु एकै ठाउँमा बसेर खाने गरेका छन् । विद्यार्थीहरुलाई विद्यालयले खाजा तालिका पनि उपलब्ध गराएको थियो । सोही तालिका अनुसार विद्यार्थीहरुले टिफिनमा खाजा लिएर आउने गरेको शिक्षक सीता ठाडाले बताउनुभयो । प्रधानाध्यापक सारुले खाजामा एक रुपता ल्याए संगै घरमा कोदोको रोटी नखाने विद्यार्थीहरुले पनि साथीहरु संगै बसेर खाने गरेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन बहादुर सारुले गाउँमै उत्पादन भएको खाद्यान्न बाट बन्ने खाजा स्वास्थ्यकर संगै सस्तो पनि हुने हुनाले अभिभावकहरुको भेला डाकेर अनिवार्य गरिएको बताउनुभयो । उहाँले खाजामा एक रुपता ल्याउन तथा मौलिक खानामा पनि बानी पार्नका लागिका यसले सहयोग पुगेको बताउनुभयो ।

विद्यालयले दिवाखाजाको लागि प्राप्त हुने रकम विद्यार्थीहरुलाई नै प्रदान गर्ने जनाएको छ । खाजाको रुपमा रहेको फलफूल तथा अण्डाहरु किन्नको लागि त्यसले सहज गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?