देशैभर शिवालयहरुमा आराध्यदेव शिवको पूजाराधना (हेरौं रामपुर क्षेत्रको शिवलयहरुमा देखिएका दृश्यकहरु)

पाल्पा, महाशिवरात्रि पर्वको अवसरमा देशैभर आराध्यदेव शिवको पूजाराधना संगै भजनकृतन सहित विभिन्न स्थानमा साँस्कृतिक मेला लागेको छ । बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्ति पूर्वक पूजाराधना गरेका थिए ।

यता गण्डकी बेशी क्षेत्रका विभिन्न शिवालयहरुमा विहानै देखि भक्तजनहरुको भिडभाड रहेको थियो । विषेश गरी पाल्पाको सिद्धबाबा, स्याङ्जाको छायाँक्षेत्रमा भक्तजनहरुको दिनभर भिडभाड रहेको थियो । यस्तै रामपुर नगरपालिका ८ को सिद्धबाबा धाम, वडा नं. १ को टापुधाम, वडा नं. ४ को भिमसेनटोल शिवालय, वडा नं. ५ को बेझाँड शिवालय मन्दिर, बरुणेश्वर महादेव मन्दिर, वडा नं. ६ को तालपोखरा र माझटोल शिवालय, वडा नं. १०को बालसिद्ध मन्दिरमा विशेष पुजा भएको थियो ।

पर्यटकिय एवं धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको रामपुर ८ को सिद्धबाबा धाममा दिनभर भक्तजनहरुको भिडभाड रहेको थियो । पाल्पा, स्याङ्जा तनहुँ नवलपुर लगाएत विभिन्न स्थान बाट सिद्धबाबा धाम दर्शनका लागि पुगेका थिए । सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिका सल्लाहाकार केशब अधिकारीका अनुसार १० हजार भन्दा बढी भक्तजनहरुले यस वर्ष दर्शन गरेका छन् । उहाँका अनुसार विगतका वर्ष देखि भक्तजनहरुको संख्या क्रमश बढ्दै गएको छ । आज विहान ६ बजे देखि नै पुजाका लागि भक्तजनहरुको भिड लागेको थियो । दिनभर भक्तजनहरु भजनकृतनमा रमाएका थिए । त्यस्तै स्याङ्जाको चापाकोट क्षेत्र बाट आउने भक्तजनहरुको सुविधाको लागि र्याफ्टिङको समेत व्यवस्था रहेको थियो । सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिले विभिन्न सम्मानका कार्यक्रम समेत गरेको थियो ।
यता बेझाँड बजार शिवालयमा पनि विहानै देखि भक्तजनहरुको लाईन लागेको थियो । मन्दिरमा पुजापाठका लागि आउने भक्तजनहरुलाई मध्यनजर गर्दै रामपुर होटल तथा रेष्टुरेण्ट व्यवसायी समितिले प्रसाद व्यवस्थापन संगै पुजापाठको लागि लाईनको व्यवस्था गरेको थियो । यता रामपुर नगरपालिका ५ मा रहेको बरुणेश्व महादेव शिव लिङ्गधाम चिप्ले ढुङ्गामा दिनभर पुजापाठ संगै भजनकृतनका साथ सांस्कृतिक कार्यक्रम भएको छ । निर्माणधिन अवस्थामा रहेको मन्दिरमा बरुणेश्व मन्दिर निर्माण उपभोक्ता समितिले राष्ट्रिय कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम गरेको हो ।

शिवरात्री विशेष सांस्कृतिक कार्यक्रम बरुणेश्व मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता र रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बरुणेश्व मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भण्डारीले निर्माणाधिन मन्दिरको वर्तमान अवस्था र बाँकी काम तथा भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायीका सिर्जु अधिकारी, गायक माधव भण्डारी, रविन लामिछाने र डिवि कालिजको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन डिवि कालिजले गर्नु भएको थियो ।
हेरौं तस्वीरमा शिवरात्री मेलाका झलकहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?