शालिग्राम शिला संरक्षणका लागि टापुधाममा शालिग्राम संग्राहालय

तस्वीर साभार : तेज प्रसाद पोखरेलको फेसबुक मार्फत

पाल्पा, शालिग्राम शिला पाईने संसार कै एक मात्र नदी हो कालीगण्डकी, तर पछिल्लो समय नदीमा शालिग्राम विगतको तुलनामा पाईन छाडेको छ । अनाधिकृत रुपमा संकलन तथा नदी उत्खनन्का कारण शालिग्राम शिला कम भेटिन थालेको छ ।

नदि क्षेत्रमा हुने गतिविधिहरुले शालिग्राम शिला लोप हुने खतरा बढेको भन्दै संरक्षण एवं प्रवद्र्धनका लागि धार्मिक एवं पर्यटकिय स्थल रामपुर नगरपालिका १ टापुधाममा शालिग्राम संग्राहालय स्थापना गरिएको छ । पवित्र कालीनदीको किनार टापुधाममा रामपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा संग्राहालय स्थापना गरिएको हो । संग्राहालयको बिहिबार शिवरात्रीको अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उट्घाटन गर्नु भएको छ । संग्राहालय भवन निर्माण सम्पन्न भए संगै दामोदर कुण्ड देखि देवघाट सम्मका विभिन्न स्थान बाट संकलन गरिएका शालिग्राम शिला राखेर संग्राहालय सञ्चालन गरिएको हो ।

पहिलो चरणमा स्थानीयहरुले संकलन गरेको २ हजार ६ सय १६ वटा शिला संग्राहालयमा राखिएको छ । संग्राहालयको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर क्षेत्रको धार्मिक पर्यटन अभिवृद्धि संगै शालिग्रामको महत्व बारे जानकारी दिन तथा संरक्षण गर्नका लागि संग्रहालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संग्राहालयको प्रवद्र्धन संगै धार्मिक एवं पर्यटकिय स्थल टापुधाम क्षेत्रको विकासको लागि स्थानियबासी जुर्मुराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी बेशी क्षेत्रका जनताको अस्तित्व पवित्र कालीनदीमा निर्भर रहेको भन्दै नदीलाई स्वच्छ र सफा नदीको रुपमा संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, वडा नं. २ का वडा अध्यक्ष तारा बहादुर थापा, रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँण, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, रामपुर नगरपालिका १ का वडा सदस्य गम बहादुर मल्ल, नेपाल तरुण दल पाल्पाका सहसचिव कुमार खाँण, स्थानिय वसन्त बहादुर थापा र घिरिङ्ग गाउँपालिकाका रामप्रसाद श्रेष्ठले बोल्दै धार्मिक महत्व बोकेको शालिग्राम शिलाको संरक्षणका लागि भएको यो कार्यको प्रशंसा गर्नु भएको थियो । साथै वक्ताहरुले शंग्राहालयको दिगोपनमा स्थानियहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष टिकाराम सिग्देल क्षेत्रीले संग्राहालयमा शिलाहरु थप्दै जाने र १ लाख सम्म पुर्याउने लक्ष्य रहेको बताउनुभयो । टापुधाम क्षेत्र विकास समितिका सहसचिव भलाविक्रम सिंहका अनुसार संग्राहालय रामपुर नगरपालिकाको ८ लाख, नेपाल पर्यटन बोर्डको ५ लाख र स्थानीयको जनश्रमदान ३ लाख ४२ हजार गरी १६ लाख ४२ हजारको लागतमा संञ्चालनमा आएको हो ।

तस्वीर साभार : तेज प्रसाद पोखरेलको फेसबुक मार्फत

टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष टिकाराम सिग्देल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम टापुधाम क्षेत्र विकास समितिका उपाध्यक्ष नारायण प्रसाद सिग्देलको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई टापुधाम शिवपाञ्चायन मन्दिरका पुर्व अध्यक्ष ऋषिराम तिवारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन टापुधाम क्षेत्र विकास समितिका सहसचिव भलाविक्रम सिंहले गर्नु भएको हो । साथै शिवरात्रीको अवसरमा टापुधाम शिव पाञ्चायन मन्दिरमा विशेष मेला समेत भएको थियो । कार्यक्रममा विश्व हिन्दु युवा संघले पनि सहयोग गरेको थियो ।

तस्वीर साभार : तेज प्रसाद पोखरेलको फेसबुक मार्फत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?