पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ बर डाँडामा भ्युटावर सहितको पार्क शिलन्यास गरिएको छ । रामघाट, सीताकुण्ड सडक खण्ड अन्तर्गत रामपुर फाँट संगै पाल्पा, स्याङ्जा, तनहुँको दृश्य देखिने बर डाँडामा ४ तले भ्युटावर तथा पार्कको शिलन्यास गरिएको हो ।
रामपुर नगरपालिका बाट विनियोजित रकम मार्फत भ्युटावर निर्माण हुन लागेका हो । भ्युटावरको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, रामपुर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली र जग्गादाता बसन्तराम ठाडाले संयुक्त रुपमा वैदिक विधी पूर्वक शिलन्यास गर्नु भएको हो ।
भ्युटावरको शिन्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले टावरले दृश्य अवलोकन गर्ने स्थलको रुपमा मात्र नभई स्थानीय उत्पादन र संस्कृतिको पर्यटनको माध्यम प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले टावरको संरक्षण संगै प्रवद्र्धनका लागि स्थानियबासी स्वयम नै जागरुक हुनु पर्ने बताउनुभयो । साथै नगरप्रमुख थापाले टावर निर्माणलाई संघ र प्रदेश संग समन्वय गरी क्रमागत रुपमा आवश्यक बजेट विनियोजन गर्न जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले धार्मिक एवं पौराणिक महत्व बोकेको रामपुर नगरको रामघाट सीताकुण्ड जोड्ने सडकमा पार्क सहितको टावर निर्माण हुनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले नगरभित्रका पर्यटकिय स्थलहरुको विकासको लागि नगरपालिकाले आवश्यक पहल गर्दै आएको बताउनुभयो । रामपुर नगरपालिकाका ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले भ्युटावर निर्माणलाई वडा गौरवको आयोजनाको रुपमा अघि बढाएको बताउनुभयो । बर डाडा भ्युटावर तथा पार्क निर्माण समितिका अध्यक्ष अमिर रानाले चार तले भ्युटावर सहितको पार्कको निर्माण सम्पन्न गर्नका लागि ६० लाख बढी लागत लाग्ने बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिका बाट विनियोजित १६ लाख रकम बाट निर्माण कार्य सुरु हुन लागेको जानकारी गराउनुभयो ।
बर डाँडा भ्युटावर तथा पार्क निर्माण समितिका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष एक बहादुर नेपालीको स्वागत र रहिम मियाँको सञ्चालनमा भएको हो ।