पाल्पा, निस्दी गाउँपालिका १ नं. वडा कार्यालय पाल्पाले वडाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा भित्र भएका विकास निर्माणका योजना, गतिविधि तथा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी एवं परिस्कृत गरेर अघि बढाउन सार्वजनिक सनुवाई गरेको हो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिका बाट विनियोजित बजेट, सञ्चालन भएका कार्यक्रम, विद्युत विस्तार, योजना स्टिमेट र मुल्याङकनका विषयमा प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागीले उठाएको प्रश्न र जिज्ञाशा मेटाउँदै निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणले वडाले वडा भित्रका सबै दल र संघसंस्थाहरुलाई समावेश गरेर अघि बढेको बताउनुभयो । उहाँले वडाले आवधिक योजना निर्माण गरेर सोही अनुसार अघि बढे पनि बजेट अभावमा कतिपय कार्यक्रम ओझेलमा परेको बताउनुभयो । उहाँले सिमित स्रोतका विच वडा अघि बढेको बताउँदै वडामा आएका गुनासो पालिकामा पनि राख्ने बताउनुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले पालिकाले सञ्चालन गरेका प्रश्नमाथि उठेको प्रश्नको जवाफ दिनु भएको थियो । निस्दी गाउँपालिकाका इन्जिनियर गणेश गौतमले योजना स्टमेट, मुल्याङकन माथि उठेको प्रश्नको जवाफ दिनु भएको थियो । निस्दी गाउँपालिका वडा नं. १ का वडा सचिव दिलिप कुमार भुजले आर्थिक वर्ष २०७७/०७८ मा वडामा सञ्चालन भएका योजनाको अवस्था, वडाको प्रशासनिक गतिविधि, घटना दर्ताको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाल्पाका जिल्ला सदस्य टेक बहादुर थापाले समग्र पालिकाको विकासको लागि समानुपातिक विकासमा ध्यानदिनु आवश्यक रहेको बताउनुभयो । राधाकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक भेष बहादुर अधिकारीले सार्वजनिक सुनुवाईमा उठेका प्रश्न र जवाफ संगै कार्यान्वयनमा ध्यान दिन सकेमा मात्र कार्यक्रमले सार्थकता पाउने बताउनुभयो ।
सार्वजनिक कार्यक्रममको सहजीकरण सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारी, रेडियो रामपुर प्रतिनिधी चेतन पुलामी र रेडियो पाल्पाका इमान सिं रानाले गर्नु भएको थियो । निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य जगत बहादुर सिंजालीको स्वागत र रेडियो रामपुर प्रतिनिधी चेतन पुलामीको सञ्चालनमा भएको हो ।
वडा नं. १ संगै निस्दी गाउँपालिकाको ७ वटै वडामा सार्वजनिक सुनुवाई भएको थियो ।