संविधानलाई ठिक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्छ : कांग्रेस नेता थापा

प्रकाश ज्ञवली

स्याङ्जा, नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । नेपाल तरुण दल भिरकोटको आयोजनामा बयारघारीमा भएको आम सभालाई सम्बोधन गर्दै सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र संविधानको रक्षाको लागि भए पनि नेतृत्वमा आउनु पर्ने बताउनुभयो ।

थापाले भन्नुभयो ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताउनुभयो । नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाई थियो ।

प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पंगु बनाउनु भएको उहाँको भनाइ छ । ‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ थापाले भन्नुभयो ।

सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उहाँले दावी गर्नुभयो । ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भन्नुभयो ।

कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने थापाको भनाइ थियो । ‘चुनावमा गएर जनतालाई भन्नुप¥यो । संविधान बनाऊ भन्नुभयो, बनायौं । नेकपाले सरकार चलाउन सकेन र अब कांग्रेसले चलाउँछ,’ थापाले भन्नुभयो, ‘नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन । कांग्रेसले देख्ने सपना सम्मुन्नतीको हो । ’

केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उहाँको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भन्नुभयो, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा जान्छौं । हिजो के ग¥यौं हेर्ने होइन, सच्चिएर जाने हो ।’ उहाँले प्रधानमन्त्री ओलीलाई एउटा सन्काहा शासकको उपमा दिदै भन्नुभयो, ‘जस्ले सन्किएर आफ्नो दल पनि भत्कायो, संविधान पनि भत्काउँदै छ । यसको जिम्मेवारी नेकपाले पनि लिनु पर्छ ।’
कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका शुरुदेखि नै अहिलेसम्मका दिनमा संविधान विपरित कार्य नै गर्दै आईरहेको भन्दै त्यसदिन देखि नै तरुण दलले आवाज उठाएको बताउनुभयो ।

संविधानको भावना विपरित कम्युनिष्ट सकार राज्य सत्ता कब्जामा लागेको भन्दै अहिले पनि सरकार संविधान र संसदलाई हत्याउने खेलमा अध्यक्ष बस्नेतले लागेको बताउनुभयो । उहाँले आउँदो चुनामा कांग्रेस कुनै पनि पार्टीसँग मिलेर चुनावमा नजाने बताउनुभयो । कम्युनिष्ट सरकारसंग कहिल्यै सहकार्य हुन नसक्ने भन्दै संमृद्धिको महशुस जनताले अहिले सम्म गर्न नसकेको उहाँले बताउनुभयो । कम्युनिष्ट सरकारले देशलाई कुनै उपलब्धी दिन नसकेको समृद्धिको सपना काग्रेसले मात्रै पुरा गर्न सक्ने दावी गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद भागतवत प्रकाश मल्ल, प्रदेशका काँग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, संविधान सभा सदस्य राजु थापा, काँग्रेसका कार्यबहाक सभापति कुमार रानालगायतले बोल्नुभएको थियो ।
नेपाल तरुण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारा अर्यालको स्वागत, प्रसुन मगर र प्रविण खांणको सञ्चालनमा भएको थियो । कार्यक्रममा सहभागीहरुलाई न्यवाद काँग्रेसका भीरकोट नगर सभपाति तोयनाथ अर्यालले ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?