जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै वालिङ ५

तिलक गुरुङ
वालिङ, स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ५ ले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । जेष्ठ नागरिकहरुको सम्मान स्वरुप निःशुल्क दिर्घरोग, रक्तचाप, मधुमेह, मृगौला रोग तथा मोटोपन सम्बन्धी परिक्षण सुरु गरेको हो ।

“हाम्रा अग्रज उज्वल भविश्यका मार्ग दर्शक, अग्रजहरुलाई तिरस्कार होईन माया र सम्मान गरौ” भन्ने मुल नाराका साथ टोलटोलमा पुगेर निःशुल्क परिक्षण गरिएको हो । कार्यक्रमको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण शुभारम्भ गर्नु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खाँणले जेष्ठ नागरिकहरुको उचित स्याहार गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले वडा हुँदै नगरका अन्य स्थानमा पनि कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो ।

वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले जेष्ठ नागरिक आफैमा अनुभवको संगालो रहेको बताउनुभयो । जेष्ठ नागरिक संग अनुभवले नै समाजलाई सहि दिशा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराई, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे, साविक जगत भञ्ज्याङ गाविसका पुर्व अध्यक्ष नर प्रसाद रेग्मी, वडा सदस्य महेश गुरुङ लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

वालिङ ५ आरुपाटा पर्यटन भवनमा भएको स्वास्थ्य परिक्षण शुभारम्भ कार्यक्रममा ६५ वर्ष भन्दा माथिका ६४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । मधुमेह र उक्त रक्तचापका दुई जना उपचार्थ र अन्यको सामान्य उपचारको लागि सल्लाहा दिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनु भयो । शिविरमा वालिङ स्वास्थ्य चौकी र जगतभञ्ज्याङ स्वास्थ्यचौकीका स्वस्थ्यकर्मीहरुले सेवा प्रदान गरेको थियो । वालिङ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीका अनुसार स्वास्थ्य सेवा वडाको टोलहरुमा पुगेर पायक पर्ने स्थान बाट प्रदान गरिनेछ ।

वडा अध्यक्ष पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम वालिङ नगरपालिकाका कार्यपालिका सदस्य जमुना केसीको स्वागत र वडा सदस्य अनिता नेपालीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?