रामपुर नगरपालिका ६ द्वारा खेलाडीहरुलाई सम्मान

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान संगै मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । होली पर्वको अवसर पारेर चौथो मेयर कपमा फुटबल प्रतियोगितामा प्रथम तथा रसी तान्ने प्रतियोगितामा उपविजेता हुने खेलाडी तथा अन्य विधामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको हो ।

पर्यटकिय एवं धार्मिक स्थल रामपुर ८ भुजातको सिद्धबाबा धाममा मैत्रीपूर्ण वन भोज कार्यक्रम सहित सम्मान कार्यक्रम गरेको हो । कार्यक्रम बोल्दै रामपुर नगरपालिकाका सल्लाहाकार एवं शहिद बहुमुखी क्याम्पसका अध्यक्ष देवराज ढकालले खेलाडीहरुको हौसलाको लागि वडाले सञ्चालन गरेको कार्यक्रम अति नै प्रशंसनिय रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको मनोबल बढाउन प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जालीले जनप्रतिनिधी, सरोकारवाला निकाय संगै खेलाडीहरु विच भातृत्व कायम गर्नमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले वडा नं. ६ ले मेयर कपमा प्रस्तुत गरेको शैली आफैमा उत्कृष्ट रहेको बताउनुभयो । खेलाडीहरुले आफ्ना खेलका क्रममा देखाएको अनुशासन आफैमा नमुना रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको उत्थानको लागी नगद खेलकुद आफ्ना गतिविधिलाई जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का सल्लाहाकार विष्णु मायाँ ढकाल, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी पुरुषोत्तम, नेपाली कांग्रेस रामपुर ६ का सभापति कृष्ण प्रसाद अर्याल, नेकपा एमाले रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटा, नेकपा माओवादी केन्द्रका जनकराज ढकाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि राम प्रसाद गैरे, क्रिकेट खेलका टिम कोच कृष्ण गैरेले विजयी हुनु मात्र नभई सिक्नु पनि महत्वपूर्ण कुरा रहेको बताउनु भएको थियो । वक्ताहरुले वडा नं. ६ ले रामपुर नगरलाई राष्ट्रिय स्तरमा चिनाउन पनि सहयोग गरेको बताउनुभयो ।

रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाले खेलकुदको प्रवद्र्धनको लागी वडाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ६ का वडा सदस्य एवं खेलकुद संयोजक यम बहादुर भुजेलको स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?