कासजरीमा गहुँ पकेट क्षेत्र सम्बन्धी अन्तरक्रिया तथा यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका ४ कासजरीमा गहुँ पकेट क्षेत्र सम्बन्धी अन्तरक्रिया तथा कृषि यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र उद्यमी कृषि समुह कासजरीको आयोजना सञ्चालन भएको गहुँ पकेट क्षेत्रमा समावेश भएका कृषकहरुलाई कृषि यन्त्र हस्तान्तरण संगै अन्तरक्रिया गरेको हो ।

कृषक समुहलाई मिनी टेलर प्रदान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले हाम्रो आर्थिक समृद्धिको आधार कृषि नै भएकाले तीनै तहका सरकार त्यसमा केन्द्रित भएको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले कृषिको व्यवसायीकरणमा लाग्छु भन्ने युवा तथा महिलाहरुको लागि अनुदान तथा व्याज अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनका लागि पालिकाले प्रदेश तथा संघ संग समन्वय गरेर पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले यान्त्रिकरणले कृषकहरुलाई धेरै सहज बनाए पनि कृषि तर्फ अझै आकर्षण बढ्न नसक्नु दुखद् भएको बताउनुभयो । उहाँले कृषिमा जस्तो प्रचुर सम्भावना र अवसर अन्य क्षेत्रमा नरहेको बताउनुभयो । उहाँले नगरपालिकाले कृषिको प्रवद्र्धनका लागि प्राविधिक ज्ञान संगै सामाग्रीहरुमा अनुदान प्रदान गर्दै आएको बताउनुभयो । रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले वडाले पनि कृषकहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्राप्त उपकरणहरुको उच्चतम प्रयोग र दिगोपनमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर ४ का वडा सभापति बसन्तराम ठाडाले कृषकहरुलाई व्यवसायिक रुपमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी कृषकहरुले गहुँ पकेट क्षेत्रका बारेमा उठाएका प्रश्नको जवाफ दिदैँ रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरी पाण्डेले गहुँ खेतीको भण्डारण, विउ राख्ने तरिकाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले व्यवसायिक रुपमा काम गर्छु भन्नेहरुको लागि शाखाले आवश्यक प्राविधिक ज्ञान संग परामर्श प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ५० प्रतिशत अनुदानमा २ वटा मिनि टेलर प्रदान गरिएको थियो । पछिल्लो समय गहुँ खेती गर्ने प्रचलन हट्दै गएकोमा रामपुर नगरपालिकाले यस तर्फ आकर्षित गर्न वडा नं. ४ र १० मा पकेट कार्यक्रम सञ्चालन गरेको हो । पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले विउ, मल र यन्त्रमा ५० प्रतिशत अनुदान प्रदान गरेको थियो । गहुँ पकेट समन्वय समितिका अध्यक्ष टेक बहादुर क्षेत्रीका अनुसार कासजरीमा झण्डै ४० जना कृषकहरुले २ सय रोपनी बढीमा गहुँखेती गरेका छन् । समितिका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सदिक्षा बरालको स्वागत र गोपाल श्रेष्ठको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?