पाल्पा, रामपुर नगरपालिकामा निःशुल्क ३ महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको आयोजना र कालिगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट रामपुरको सहजिकरणमा तालिम सुरु भएको हो ।
महिलाहरुलाई सीपसिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन भएको तालिम बेझाँड खेतमा सुरु भएको हो । प्रशिक्षकलाई सियो र धागो हस्तान्तरण गरेर तालिम शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सिकेका कुरा व्यवहार प्रयोग गरी आत्मनिर्भर बन्छु भन्ने लक्ष्य लिएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जीवन स्तर उकास्न तथा आर्थिक स्तर वृद्धि गर्नका लागि यस्ता तालिमहरुले सहयोग गर्ने बताउनुभयो । आर्थिक रुपमा सवल बनाई महिला सशक्तिकरणको लागि पनि तालिमको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले तालिम सिक्ने तर व्यवहारमा प्रयोग हुन सकेन भने कार्यक्रमको कुनै औचित्य नहुने भन्दै यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको बजेट मध्ये बाट कार्यक्रम सञ्चालन हुन लागेको बताउनुभयो । कार्यक्रममा मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमका योजना सिफारिस समिति सदस्य बन्दना पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । प्रशिक्षार्थी सरिता रेग्मी तालिमलाई जीवन परिवर्तनको माध्यम बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
३ महिना सम्म चल्ने तालिममा ४० जनाको सहभागिता रहेको छ । तालिमको सहजिकरण शान्ती पोखरेल गौतम र लक्ष्मी पाण्डेयले गर्नुहुनेछ । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का वडा सदस्य एवं न्यायपालिका सदस्य विष्णु प्रसाद बस्यालको स्वागत र कालिगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युटका निलकण्ठ भण्डारीको सञ्चालनमा भएको हो ।