रामपुरमा जिल्ला मै ठूलो चिस्यान केन्द्र सञ्चालनमा आयो

इमान सिं राना
पाल्पा
, जिल्ला कै सबै भन्दा ठूलो क्षमता सहितको शीत भण्डार (चिस्यान केन्द्र) रामपुरमा सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको संयुक्त लगानीमा रामपुर ५ बेझाँडमा ३ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा आएको हो ।

स्थानीय कृषकहरुको समस्यालाई ध्यानमा राखी बैशाख १५ गते बाट प्रयोगमा ल्याउन थालिएको हो । शीतभण्डारको कार्यालय भवन निर्माणाधिन अवस्थामा रहे पनि ५ वटा च्याम्बर सहितको शीतभण्डार तयार भए पछि प्रयोगमा ल्याईएको हो । शीतभण्डार प्रयोगमा आए संगै आलु लगाएतका कृषि उपज भैरहवा र गल्याङ्ग लगाएतका स्थानमा पठाउँदै आएका कृषकहरु हर्सित बनेका छन् । आलुखेती गरेका यस क्षेत्रका कृषकहरु थप उत्साहित भएका छन् ।शीतभण्डारमा आलु राख्न आएका रामपुर ६ का कृषक युवराज अधिकारीले रामपुर मै शीत भण्डार सञ्चालन हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला आलुको विउ राख्नको लागि भैरहवा वा गल्याङ्ग पाठाउँदै आएका थियौं । अहिले हाम्रै ठाउँमा सञ्चालन हुनु त खुशीको कुरा होनी ।’ अधिकारीले खुशी व्यक्त गर्दै कृषि उपज भण्डारण गर्दा विग्रीयको खण्डमा क्षति पूर्तिको व्यवस्था भएमा किसानहरुलाई थप राहत मिल्ने बताउनुभयो ।

गत पुस मसान्तमा तयार हुने आशाका साथ नगरपालिकाले आलुखेती प्रवद्र्धनका लागि सहयोग गरेको थियो । तर नगरपालिकाको कार्यक्रम संग संगै हातेमालो गरेका कृषकहरु शीतभण्डार कहिले सम्पन्न हुन्छ भन्नेमा अन्योल छाउँदा निराश भन्न पुगिसकेका थिए । कृषकहरुको समस्यालाई मध्यनजर गरी नगरपालिकाले समयमा काम सक्न निरन्तर निर्माण कम्पनीलाई आग्रह गर्दै आएको थियो । रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले निरन्तरको पहल पछि बल्ल प्रयोगमा ल्याउन सम्भव भएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘रामपुर मै शीत भण्डारण सम्पन्न हुने भएकाले उत्पादन भएको आलु खेल जाँदैन भन्यौ तर बेलैमा नसकिदा किसानहरुको आलु कुहीने होकी भन्ने पिरलो थियो । आज समस्या हल भएको छ ।’

चिस्यान केन्द्रमा अहिले नगरका विभिन्न वडाका कृषकहरुले विउ तथा खायन आलु भण्डारणका लागि ल्याएका छन् । नगरपालिकाले भण्डारण शुल्क तोकेर टेण्डर आह्वान गरी व्यवस्थापनको जिम्मा समेत प्रदान गरि सकेको कृषि शाखाले जनाएको छ । रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले विद्युत महशुल, मर्मत सम्हार र व्यवस्थापन उसैले गर्ने गरी वार्षिक २ लाख ५ हजारमा सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले बढिमा किसान संग प्रति किलो ६ रुपैयाँको दरले लिने गरी टेण्डर अह्वान गरेका थियौं । जस अनुसार रम्भा १ हुँगीका भगवती अधिकारीले व्यवस्थापनको जिम्मा लिनु भएको छ ।’ शीतभण्डार निर्माणको लागि आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण कम्पनी रविना अभिषा जेभी काठमाडौले ३ करोड २६ लाख ७६ हजार ५ सय ६७ मा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । तर लकडाउनका कारण निर्माणको काम प्रभावित बनेको थियो । निर्माण कम्पनीका प्रतिनीधि श्रीकृष्ण कार्कीले लकडाउनका कारण समयमै काम सम्पन्न हुन नसके पनि अहिले कृषकहरुको तत्कालको समस्या समाधानको लागि भण्डारण कक्ष सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘शीत भण्डारणको मुख्य भाग भण्डारण कक्षको सबै काम सम्पन्न भएको छ । अब कार्यालय भवन र जेनेरेटर जडानको काम मात्र बाँकी रहेको छ ।’ रामपुर नगरपालिका कृषि शाखा र पशु सेवा शाखाको भवन नजिकै आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण सुरु भएको थियो । प्रदेश सरकार र स्थानीय तहको लागत सहभागीतामा निर्माण भएको शीत भण्डारको ५ वटा च्याम्बर मध्ये स्टिमेट अनुसार निर्माण कम्पनीले ३ वटा सञ्चालन गरी सकेको छ । बाँकी २ वटा च्याम्बर सञ्चालनको जिम्मेवारी नगरपालिकाको रहेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बाँकी २ वटा च्याम्बर आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याईने बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आए संगै यस क्षेत्रका तरकारी तथा फलफूलहरु जन्य कृषिउपज भण्डारण गरी आवश्यक अनुसार बजारमा पठाउन सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?