निषेधाज्ञा संगै सुनसान पाल्पाका बजार (रामपुर बेझाँड क्षेत्रका तस्वीर सहित)

पाल्पा, कोरोना संक्रमितको संख्या बढ्दै गए पछि एक पछि अर्को जिल्लामा निषेधाज्ञा लागु भएको छ । नयाँ भेरियन्ट सहितको कोभिडको जोखिम अझ खतरा रहेकालो रोकथाम तथा न्यूनिकरणको लागि निषेधाज्ञा जारी भएको हो ।

पाल्पामा पनि गयराति १२ बजे देखि एक हप्तालाई निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको प्रभाव गत वर्ष चैत ११ देखिको लकडाउनमा जस्तै देखिएको छ । चार महिना लामो लकडाउन पश्चात विस्तारै आफ्नो लयमा फर्किने प्रयासमा रहेका जिल्लाका बजार क्षेत्र निषेधाज्ञाको पहिलो दिन पुन सुनसान बनेको छ । पाल्पा सदरमुकाम तानसेन, व्यापारिक केन्द्र रामपुर सहित आर्यभञ्ज्याङ्ग, ताहुँ, कसेनी, सराई, खहरे, डुम्रे, छहरा लगाएतका बजार क्षेत्र सुनसान छ ।

घर तथा भवन निर्माणको कार्य छिफुट भए पनि बजार क्षेत्रका उद्योग, व्यवसायहरु बन्द रहेको छ । सवारी साधनहरु थप्प रहेको छ । जिल्ला प्रशासनको निर्देशनलाई पालना गरिएको देखिएको छ । प्रशासनले निषेधाज्ञाको समयमा विनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको थियो । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक यातायातहरु सञ्चालन नगर्न अनुरोध गरेको थियो । अन्य जिल्लाका लागि पाल्पा हुँदै गुड्ने सवारीलाई यात्रु ओराल्न र चढाउन नपाईने गरी राजमार्गमा गुड्ने निर्णय गरेको थियो ।

मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन गर्न पाईन्छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु, होटेल तथा रेष्टुरेण्टहरु विहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला रहने छ । उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन । स्वास्थ्य, संचार, विद्युत, खानेपानी, बैंक तथा वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेवाहरु बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । निषेधाज्ञालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ । रामपुर क्षेत्रका विभिन्न चोक र बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

पहिलो दिन रामपुरको बेझाँड बजार संगै आसपासका किसानबारी, विजयपुर, तिलकपुर, सदावर्त, रजघरा, किर्तिपुर, गण्डकी ढिक, भलायटार क्षेत्रका बजारमा पनि निषेधाज्ञाको पूर्ण पालना गरेको पाईएको छ । कोभिड बाट बच्न आफै सजक रहनुको विकल्प नभएकाले स्थानीयहरु सतर्क बनेको पाईन्छ ।

हेरौं निषेधाज्ञाको पहिलो दिन कटुवाल खबरका लागि इमान सिं रानाले कैद गर्नु भएको बेझाँड बजार क्षेत्रका तस्वीरहरु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?