गण्डकी प्रदेश सांसद मल्ललाई पितृशोक

स्याङ्जा, गण्डकी प्रदेश सभा सदस्य एवं नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्ललाई पितृशोक परेको छ । मल्लका बुवा गजेन्द्र प्रकाश मल्लको ७६ वर्षको उमेरमा मंगलबार साँझ गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि विभिन्न रोगले ग्रस्त मल्लको ४ दिनदेखि आईसियुमा उपचार हुँदै आएको थियो । मल्ल लोकतन्त्र स्थापना संगै संस्थागत गर्नका लागि नेपाली कांग्रेसमा आवद्ध भई राजतिनीमा सक्रिय रहँदै आउनुभएको थियो । स्याङ्जाको साविक सेखाम गाविस बाट सक्रिय रुपमा राजनीतिमा छाउनु भएको उहाँ तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत बन्नु भएको थियो । साथै मल्ल नेपाल निर्माण व्यवसायी संघ स्याङ्जाको संस्थापक अध्यक्ष हुनुका साथै निर्माण व्यवसायी संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

उहाँले गाउँका विभिन्न विद्यालयहरुमा व्यवस्थापन समितिमा अध्यक्ष रहेर काम गर्नुका साथै विभिन्न वित्तीय संस्थाहरुमा रहेर महत्वपूर्ण भूमिका खेल्नुभएको नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले बताउनुभयो । उहाँले भन्नुभयो’ ‘प्रतिबन्धित कालमा समेत साहसका साथ राजनीति गर्ने गजेन्द्र मल्ल नेपाली काङ्ग्रेसको एउटा योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली काङ्ग्रेस स्याङ्जालाई मात्र नभएर सिङ्गो लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ ।’ उहाँको ३ छोरा, १ छोरी र १ श्रीमती हुनुहुन्छ । मल्लको बुधबार सरकारले तोकेको मापदण्ड भित्रै रहेर राम्दीमा परम्परागत विधि अनुसार नै अन्त्येष्टि गरिदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?