पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट विस्तारको लागि एक करोड ५० लाख

पाल्पा, नेपाल सरकार अर्थमन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट विस्तारको लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको छ । देशै भरका १ स्थानमा अक्सिजन पाईपलाईन विस्तार र ११ स्थानमा अक्सिजन प्लान्ट विस्तारको लागि १६ करोड ८० लाख बजेट सहमति दिने क्रममा पाल्पा अस्पताल पनि परेको हो ।

स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको हो । अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत भएपछि पाल्पा जिल्ला सहित यस भेगका जिल्लामा अक्सिजन अभाव नहुने बताइएको छ । कोरोना प्रभावित बिरामीका लागि अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेकोमा पाल्पाका संघीय सांसद एवं पूर्व मन्त्री द्वय सोमप्रसाद पाण्डेय र दलबहादुर रानाले नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । उहाँहरुले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिनु भएको हो ।

क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद सोम प्रसाद पाण्डेयले फेसबुकमा लेख्नु भएको छ, ‘अक्सिजन प्लान्टका लागि डेढ करोड !! कोभिड १९ संकट व्यवस्थापन समिति पाल्पाको माग वमोजिम स्वास्थ्य मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न १ करोड ५० लाख रूपैयाँ स्वीकृत गरेको छ । अक्सिजन प्लान्ट निर्माण गरी कोरोना संक्रमितको उपचारमा सहज बनाउन यो निर्णय फलदायी हुनेछ । माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यू र माननीय स्वास्थ्यमन्त्री ज्यूलाई धन्यवाद ।’

क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद दल बहादुर रानाले पनि आफ्नो फेसबुक मार्फत लेख्नु भएको छ, ‘पाल्पा जिल्ला समन्वय समिति र कोभिड १९ संकट ब्यबस्थापन समिति पाल्पाको निर्णय अनुसार जिल्ला सरकारी अस्पतालको माग, स्वास्थ्य मन्त्रालयको निर्णय र बजेट मागको आधारमा अर्थ मंत्री ज्यू ले आजकै मितिमा पाल्पामा तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न रु १ करोड ५० लाख (एक करोड पचास लाख) बजेट स्विकृत गर्नु भएको व्यहोरा सबैलाई जानकारी गराउदै अर्थ मंत्री ज्यू स्वास्थ्य मंत्री ज्यू लगायत सम्बध्द सम्पुर्णमा धन्यवाद तथा आभार प्रकट गर्दछु ।’

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले २०७८ जेठ ३ गते निर्णय गरेको थियो । पाल्पामा हाल दैनिक एक सय बढी अक्सिजन सिलिण्डर कोरोना प्रभावित बिरामीका लागि उपयोग भईरहेको छ । अझ अक्सिजन अभावमा अस्पतालमा बिरामीको उपचार गर्न सकिएको छैन । पाल्पा क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री पाण्डेयका अनुसार प्लान्ट संचालनपछि दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?