रम्भाका कृषकहरुलाई शत प्रतिशत अनुदानमा धानको बीउ वितरण

पाल्पा, रम्भा गाउँपालिकाले गाउँपालिकामा कृषकहरुलाई शत प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ । गाउँपालिका भित्रका ४ वटा वडाका कृषकहरुलाई प्रोत्साहन गरी मुख्य खाद्यान्न बाली धानको उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ ४ हजार ७ सय २५ किलो बीउ प्रदान गरेको हो ।

वडा नं. १, २, ३ र ४ का कृषकहरुलाई माग अनुसार वडाका जनप्रतिनिधि तथा कृषि प्राविधिहरुको समन्वयमा बीउ वितरण गरिएको हो । वडा नं. १ हुँगीका कृषकहरुको लागि २ हजार ९ सय २० केजी राम धान, ७ सय २५ केजी साँवा मन्सुली र ५ सय २५ केजी राधा–१४ जातको बीउ वितरण गरिएको थियो । वडा नं. १ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मी, गाउँकार्यपालिका सदस्य लक्ष्मी माझी, कृषि प्राविधिक तथा वडा कर्मचारीको सहजिकरणमा वितरण गरिएको थियो ।

त्यसै गरि वडा नं. २ फोक्सिङ्गकोटमा २ सय १० किलो, वडा नं.–३ पिपलडाँडामा १ सय ४० किलो, वडा नं.–४ हुमिनमा पनि २ सय ५ किलो बीउ कृषकहरुलाई माग अनुसार वितरण गरिएको वडा नं. ४ का वडा अध्यक्ष तथा बीउविजन खरिद समितिका संयोजक भोज बहादुर वि.कले जानकारी दिनुभयो । रामधान र साँवा मन्सुली बाहेक राधा–१४ उन्नत धानको बीउ भने हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रमले उपलब्ध गराएको थियो । हुँगी क्षेत्रलाई उपयुक्त भएकाले माग अनुसार बीउको लागि गत वर्ष उत्पादन गरिएको बीउ प्रदान गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक केदार प्रसाद बस्यालले बताउनुभयो ।

रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार बीउ प्रदान गरेको हो । खेतीयोग्य भूमीको सदुपयोग गर्न कृषकहरुलाई प्रेरित गरी खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले सुरुमा ५० प्रतिशत अनुदानमा माग अनुसार बीउ वितरण गर्ने भने पनि कोरोमा महामारीको कारण प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धानको बीउ शत प्रतिशत अनुदानमा प्रदान गरिएको बताउनुभयो ।  गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश गेलाङ्गले शाखा मार्फत कृषकहरुलाई आवश्यक परामर्श दिदै आएको जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं. ५ मा पनि धानको बीउ माग भए पनि फरक जातको बीउ उपलब्ध नहुँदा प्रदान गर्न नसकिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?