कोराना विरुद्धको भेरोसेल खोप देशैभर लगाउन सुरु

पाल्पा, सरकारले मंगलबार बाट देशैभर जेष्ठ नागरिकहरुलाई कोराना विरुद्धको खोप अभियान सुरु गरेको छ । काठमाडौं उपत्यका भित्र ६० देखि ६४ वर्ष उमेर समुहको लागि र उपत्यका बाहिर ६२ देखि ६४ वर्षको लागि खोप लगाउन सुरु गरेको हो ।

चीनले अनुदान स्वरुप दिएको १० लाख डोज भेरो सेल खोप ५ दिन अर्थात जेठ २९ गतेसम्म देशैभर अभियान संचालन गरी लगाउन सुरु गरेको हो । यता पाल्पाको १० वटै पालिकाहरुले खोप केन्द्र तोकेर खोप अभियान सञ्चालन गरेको छ । रामपुर नगरपालिकाले आज वडा नं. १ देखि ४ नं. वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र बाट खोप प्रदान गरेको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरु मध्ये मंगलबार १ सय ४० जनाले पहिलो डोज खोप लगाएको छ ।

वडा नं. १ को गाडाकोट स्वास्थ्य चौकी, वडा नं. २ को आधारभुत स्वास्थ्य केन्द्र भलायटार, वडा नं. ३ को शहरी स्वास्थ्य केन्द्र रजघरा, वडा नं. ४ को आधारभुत स्वास्थ्य केन्द्र देवीस्थान बाट खोप प्रदान गरिएको थियो । त्यस्तै रामपुर नगरपालिका वडा नं. ५ को लागि रामपुर अस्पताल बाट २६ र २७ गते खोप प्रदान गरिने भएको छ । त्यस्तै वडा नं. ६ को आधारभुत स्वास्थ्य केन्द्र तिलकपुर, वडा नं. ७ को आधारभुत स्वास्थ्य केन्द्र विरेन्द्रटार र वडा नं. ८ को खालिवन स्वास्थ्य चौकी कुम्राङ, वडा नं. ९ को आधारभुत स्वास्थ्य केन्द्र जब्गादी र वडा नं. १० को गेझा स्वास्थ्य चौकीमा पनि बुधबार खोप दिने कार्यक्रम रहेको छ । यस्तै नगरभित्रका सबै वडामा उक्त उमेर समूहका कोही छुटेमा २७ गते रामपुर अस्पातलमा खोप लगाइने जनाएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सिमित जनशक्तिका कारण फरक फरक मिति तय गरिएको बताउनुभयो । सरकारले तोकेको उमेर समुहको लागि रामपुर नरपालिकामा ५ सय ५० डोज खोप उपलब्ध भएको थियो । यस्तै पहिलो दिन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले खोप केन्द्रमा पुगेर निरिक्षण गर्नु भएको थियो । खोपको अत्याधिक माग रहेको अवस्थामा केन्द्रहरुमा त्रासको कारण खोप बाट लाभान्भितहरुको उपस्थिति उत्साहजन रुपमा नभेटिएको पाईएको छ । खोप लगाए पछि नकारात्मक असर देखिने गलत भ्रमका कारण केही नागरिकहरु आउन डराएको पाईएको छ ।

यता चिकित्सकहरुले खोपको कारण कोरोना लागे पनि असर कम देखिने गरेको बताउँदै आएको छ । यता रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आफुले प्राप्त गरेको खोप ढुक्क भएर लगाउन आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘कोरोना बाट बच्ने विकल्प त्यही खोप हो । खोप लगाउन कुनै डर मान्नु पर्दैन । ढुक्क भएर आफुलाई पायक पर्ने स्थानमा गएर खोप लगाउनु होला ।’ उहाँले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त खोपले कोभिड–१९ को संक्रमणको जोखिम न्युनिकरण गर्ने हुँदा कुनै शंका बिना खोप लगाउन अनुरोध गर्नुभयो । खोप कार्यक्रम सम्बन्धित स्थानहरुबाट बिहान १० बजे देखी ४ बजेसम्म सञ्चालन भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?