डिजाईन परिवर्तन संगै रामपुर–दामाचौर पुल निर्माणले गति लियो

पाल्पा, डिजाईन परिवर्तन भए संगै कालीगण्डकी नदीमा निर्माणाधिन रामपुर–दामाचौर मोटरेबल पुल निर्माणले गति लिएको छ । १० वर्ष अघि सम्झौता भएर निर्माण सुरु भएको स्याङ्जाको चापाकोट ८ दामाचौर र पाल्पाको रामपुर ६ प्याकलुक जोड्ने दामाचौर पुल डिजाईन फेल भए पछि प्रभावित बनेको थियो ।
२०६८ साल असार २६ गते इलाईट एस.बि.ए.जे.भिले ३ बर्षमा काम सक्ने गरि सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले दुई छेउका पिलर निर्माण पश्चात नदीको विचको २ वटा पिल्लर वेल फाउण्डेसनको डिजाईनमा बनाउने क्रममा कडा चट्टान भेटिए पछि काम रोकिएको थियो । ३५ प्रतिशत काम सकिए पश्चात रोकिएको पुलको लामो समय पछि मन्त्रालय बाट गत वर्ष पायल फाउण्डेशनमा डिजाईन परिवर्तन संगै लागत स्वीकृत पछि पुन : गत मंसिर बाट काम सुरु भएको थियो ।
६०/६० मिटरका तीन स्पाम सहितको १ सय ८१ दशमलब ६९ मिटर लम्बाई र ८ मिटर चाडाई रहेको पुलको अहिले सम्ममा ५० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी इलाईट एस.बि.ए.जे.भिले जनाएको छ । काम सुरु भए संगै नदी विचको पिल्लर निर्माणको मुख्य कामहरु सकिएको छ । दुवै पिल्लरको जमिन तलको भाग पायलिङ्ग सकिएर एक वटा पिल्लरको क्याप समेत तयार भएको इलाईट एस.बि.ए.जे.भिका श्याम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुलको जाटिल भागको कामहरु सम्पन्न भएको छ । अगामी भदौ देखि एक भागमा ट्रस राख्ने काम सुरु हुनेछ । संगै विचको अर्को पिल्लरको जमिन माथिको भाग र क्याप निर्माणको काम हुनेछ ।’ उहाँले आगामी आर्थिक वर्ष भित्र जसरी पनि पुल निर्माण सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो । निर्माण कम्पनीका प्रतिनिधि हेम बहादुर थापाले प्राविधिक समस्या हुनाले रोकिएको काम तिव्रगतिमा भैरहेको बताउनुभयो ।

विच भागमा रहने दुई पिल्लर निर्माणको क्रममा डिजाईन अनुसार वेल फाउण्डेसन १५/१५ मिटर जमिन मुनी दब्नु पर्नेमा ५ मिटर भन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चात काम गर्ने प्रक्रिया रोकिएको थियो । कम्पनीले सुरुमा यस अघि भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैया ६० पैसामा ठेक्का लिएको थियो । विच भागको पिल्लर वेल बाट पायल फाउण्डेशनमा परिवर्तन गर्दा झण्डै २० प्रतिशत लागत बढेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर मुकुन्दराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘वेल ढसाउने क्रममा समस्या आएकाले डिजाईन परिवर्तन गर्दा सुरुको लागतमा पनि २० प्रतिशत वृद्धि भएको छ ।’ जस अनुसार पुलको लागत २ करोड ७३ लाख थप भएको छ ।

पुल निर्माणले गति लिए पछि पुल नबन्ने होकी भन्ने दुविधाका कारण निराश बनेका नागरिकहरुमा आशा पलाएको छ । कामको गति संगै आगामी वर्ष पुल सम्पन्न हुनेमा विश्वास जागेको रामपुर दामाचौर कालीगण्डकी पुलका उपभोक्ता समिति अध्यक्ष गोपाल प्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिजाईन फेल हुनाले परिवर्तन गर्नु पर्दा धेरै समय लाग्यो । डिजाईन परिवर्तन पछि १५ प्रतिशत भन्दा माथि लागत बढ्ने भएकाले मन्त्रालय बाटै स्वीकृत लिनु पर्ने भएकाले झनै ढिलो भयो । अब काम तिव्रगतिमा भएको छ । अर्को साल पुल सम्पन्न हुनेछ भन्नेमा विश्वस्त छौं ।’ उहाँले पुल सम्पन्न पश्चात यो पोखरा देखि अरुणखोला जोड्ने प्रमुख मार्ग हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?