विहिबार पाल्पाका थप १ सय ३२ जनाले कोरोना जित्न सफल

पाल्पा, पछिल्ला २४ घण्टामा पाल्पाका थप १ सय ३२ जनाले कोरोना संक्रमण जितेको छ । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६६ जना महिला र ६६ जना पुरुषले कोरोना जितेको हो ।

जस अनुसार तानसेन नगरपालिकाका ६०, निस्दी गाउँपालिकाका २६, रैनादेवी छहरा गाउँपालिकाका २३, रामपुर नगरपालिकाका १४, तिनाउ गाउँपालिकाका ४, पूर्वखोला गाउँपालिका र बगनासकाली गाउँपालिकाका २÷२ र माथागढी गाउँपालिका १ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ५ सय १७ पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा जिल्लामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पिसीआर परीक्षणमा ६५ जनाको परीक्षण गरिएकोमा २७ जनामा संक्रमण देखिएको हो । जसमा ११ जना महिला र १६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका १४, रैनादेवी छहरा, बगनासकाली,निस्दीका ३/३, रिब्दीकोटका २, माथागढी र रम्भाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९ पुगेको छ । जसमा १ हजार ८ सय ६१ महिला र ३ हजार २ सय ४८ जना पुरुष रहेका छन् ।

एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १५ जना महिला र ९ जना पुरुष रहेका छन् । रामपुरका ९, बगनासकाली र तानसेनका ६/६, तिनाउका २ र माथागढीका १ जनामा संक्रमण देखिएको हो ।योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ९१ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?