हाम्रो टिम नेपाल द्वारा रामपुरमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

पाल्पा, सामाजिक क्षेत्रमा सक्रिय हाम्रो टिम नेपाल काठमाडौले पाल्पाको रामपुरमा खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । हाम्रो टिमले रामपुर नगरपालिका वडा नंं.१० का दलित तथा जनजातिका ४५ परिवारलाई खाद्यान्न सामग्रीहरु वितरण गरेको अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण खाद्य संकटमा परेकाहरुलाई नेप्लीज व्रिटिस कम्युनिटि युकेको सहयोगमा ती सामग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो । हाम्रो टिमले ५० शैयाको रामपुर अस्पताललाई चार हजार मास्क र १० लिटर सेनिटाइजर प्रदान गरेको हाम्रो टिमका लुम्बिनी संयोजक बिश्वबन्दु भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय रामपुरलाई १५ सय मास्क र पाच लिटर सेनिटाइजार र गेझा स्वास्थ्य चौकी तथा जनकल्याण उच्च माविलाई पाँच सय प्रदान गरेको पनि उहाँले बताउनुभयो ।

यस्तै तनहुँको घिरिङ गाउँपालिकाका ३५ परिवारलाई पनि खाद्यान्न वितरण गरिएको हाम्रो टिमका संस्थापक लक्ष्मण सिंह धामीले जानकारी दिनुभयो । हाम्रो टिमले काठमाडौ लगायत देशका विभन्नि ठाउँमा राहत सामग्रीहरु वितरण गर्दै आइरहेको छ । त्यसैगरी हजारौँ विपन्न विरामीलाई अक्सिजन सिलिन्डर समेत वितरण गरेको थियो । उनीहरुले गत बर्षदेखि अहिलेसम्म पनि काठमाडौमा दैनिक औसतमा २०० जनालाई निःशुल्क खाना खुवाउने गरेका छन ।

हाम्रो टिम नेपालले यसअघि निःशुल्क कपडा बैंक र ६५ रुपैयाँमा खाना घर पनि संचालन गरेको थियो । निषेधाज्ञाका कारण खाना घर अहिले बन्द रहेको छ । खाना घर निषेधाज्ञा खुलेपछि फेरि संचालन गरिने खाना घरकी संचालक कविता पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?