पाल्पामा निषेधाज्ञा असार १२ सम्म लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

पाल्पा, गत बैशाख १७ गते देखि पाल्पामा जारी निषेधाज्ञा आगामी असार १२ गते सम्म लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणको दर वृद्धि हुने क्रम नरोकिएकाले पाँचौ पटक थप निषेधाज्ञा थप भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाल्पाको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सोमबार राती १२ बजे सम्म जारी रहेको निषेधाज्ञा आगामी असार १२ गते सम्मको लागि थप गरेको हो । सुरुवातमा डिसिएमसि पाल्पाको गत बैशाख १५ मा बसेको बैठकले बैशाख १७ गते राती १२ बजे देखि २४ गते राती १२ बजे सम्म आह्वान गरेको थियो । त्यस पछि २३ गतेको बैठकले थप गरेर जेठ ४ सम्म, जेठ ३ गतेको बैठकले जेठ १५ गते सम्म र जेठ १४ गते बसेको बैठकले जेठ २४ गते सम्म, जेठ २३ गते बसेको बैठकले जेठ ३१ गते सम्मको थप गरेको थियो ।

यस अघिको लकडाउन भन्दा यस पटक केही खुकलो बनाईएको छ । यस अघि खुल्दै आएको खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु, बैंक तथा वित्तिय संस्था ७ बजे देखि १० बजे सम्म खुल्दै आएकोमा थप गरेर ११ बजे सम्म खुल्ला गरिने भएको छ । वाणिज्य तथा विकास बैंक मात्र खुल्ला रहँदै आएकोमा लघुवित्त, सहकारी र विमा लगाएतलाई पनि सेवा दिनको लागि खुल्ला गरेको छ । त्यस्तै असार १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दै स्टेशनरी तथा पुस्तक पसलहरु पनि अन्य पसलहरु खुल्ने समयमा खुल्ला रहने भएको छ । सेवा प्रदानको क्रममा आवश्यक स्वस्थ्य मापदण्ड पालना गर्नु पर्नेछ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्नु भएको छ । मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुनेछ । उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन । विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्नु पर्नेछ । जसमा १० जना भन्दा बढी सहभागी हुन पाईने छैन । विकास निर्माणका कार्यमा निर्माण स्थलमा क्याम्प खडा गरेर कामदारलाई राख्ने वातावरण मिलाउनु पर्नेछ । आदेश अनुसार निषेधाज्ञामा स्वास्थ्य, संचार, विद्युत, खानेपानी, सरसफाई बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । अत्यावश्य सेवाका बाहेक अन्य सार्वजनिक यातायातहरु सञ्चालनमा भने पूर्व रोक लगाएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय पाल्पाको आदेश सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?