आज १५ असार अर्थात राष्ट्रिय धान दिवस, दही च्युरा खाएर रोपाई महोत्सव मनाईदै

पाल्पा, आज असार १५ अर्थात ‘मानो रोपेर मुरी फलाउने’ महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस, रोपाइँ जात्रा वा रोपाई महोत्सवको रुपमा मनाइँदै आएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय बाट असार १५ लाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको थियो । अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाईदैछ । तर विश्वमहामारीको रुपमा फैलिएको कोरोनाको कारण दिवस विशेष कार्यक्रमहरु प्रभावित हुने भएको छ । जोखिमकाबीच पनि केही स्थानमा भने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने भएको छ । तर कृषि विभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न पाइने छैन ।

कृषकहरुले आ-आफ्नो खेत बारीमा रोपाई गरे पनि विगतमा झै सरकारी तथा गैरसरकारी संघ संस्थाको नेतृत्वमा वृहत कार्यक्रम खासै तय भएका छैन । नेपालका अधिकांश मानिस कृषिमा निर्भर रहेकाले यो महिनालाई किसानले वर्षभरका लागि छाक जुटाउन महिनाको रुपमा लिन्छन् । यो महिनामा कृषकहरु खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । कतै आज पञ्चे बाजाको तालमा रोपाई समेत गर्ने गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । हिजो आज यो दिनलाई दही च्युरा खाने महिनाको रुपमा पनि लिने गरिन्छ । नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने बताइएको छ । भौतिक दुरी पनि कायम गरिनेछ । नेपालमा कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?