पाल्पामा ५० प्रतिशत धान रोपाई सकियो

पाल्पा, असार १५ सम्ममा पाल्पामा यस वर्ष ५० प्रतिशत रोपाई सकिएको छ । गत वर्ष यस समयमा ३० देखि ३४ प्रतिशतमा सिमित रहेकोमा समयै मनसुन सुरु हुनाले रोपाई चाँदै भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान खेती जिल्लाको कुल खेती योग्य जमिन ३६ हजार ५ सय ३७ हेक्टर मध्ये ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान उब्जनी हुने गर्दछ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले समय मै रोपाई भएको र पर्याप्त मात्रामा मल रहेकाले यस वर्षपनि धानको उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

उहाँका अनुसार पाल्पाको रामपुर, माडी, झडेवा, पूर्वखोला, कचल, अर्गली, हुँगी, सर्देवा, छेर्लुङ्ग चहला लगाएतका फाँटहरु संगै टारी खेतहरुमा पनि धान खेती हुने गरेको छ । जेठ महिनामै पानीको मुल फुटेपछी कृषकहरुले जेठ बाटै रोपाइँ शुरु गरेका थिए । यति बेला जिल्लाका कृषकहरुलाई भ्याई नभ्याई भएको छ । कृषकहरुले ठूला ठूला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन कायम नै रहेको छ ।

यता पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ कार्यक्रम भएको थियो । पाल्पामा यस वर्ष कृषि ज्ञान केन्द्रको समन्वयमा निस्दी, माथागढी, तानसेन र रिब्दीकोटले रोपाई महोत्सव गरेको थियो ।
तानसेन नौ को दमकडा, निस्दी ५ को ढुङ्गानाबेशी, माथागढी ४ को भडेवा र रिब्दीकोटको ख्याहामा धान रोपेर दिवस मनाईएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?