रामपुर नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पाल्पा -रामपुर नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

नगरले यो आर्थिक बर्षमा भएको कार्यक्रम तथा गतिविधि सार्वजनिक गरेको हो । रामपुर नगरपालिकाबाट प्रवाह भएका सेवाको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस आर्थिक बर्षमा विपद्लाई झेल्दै विभिन्न विकास निर्माणका योजनाहरुलाई अगाडी बढाईएको बताउनुभयो । साथै उहाँले नगरको यथोचित विकासका लागी सवैको सहयोग , सुझाव सल्लहा खाँचो रहेको बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाई जस्ता विभिन्न कार्यक्रमबाट प्राप्त सुझावको आधारमा नगरको विकासका लागी अगाडी बढ्ने मार्गदर्शन प्राप्त हुने बताउनुभयो ।


कृषि शाखा रामपुरको सभाहल वेझाँडमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत हरिराम नागिलाले विभिन्न शाखाको समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालन भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जनप्रतिनिधि र कर्मचारी विचको समन्वयात्मक सहकार्यले मात्र नगरको समुचित विकास हुने बताउनुभयो । साथै उहाँले नगर बाट प्रवाह भएका विभिन्न सेवाबाट नागरिक कति सन्तुष्ट छन् भन्ने नागरिक बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागि मध्येबाट विद्यार्थी आभाष भट्टराईले नगरपालिकाले शिक्षाको क्षेत्रमा प्राप्त गरेका उपलब्धीका बारेमा जिज्ञासा राख्नु भएको थियो । यस्तै विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश रेग्मीले रामपुरको गुरु योजना , कृषकलाई नगरले दिने अनुदान , र सक्रियताको आधारमा नगरपालिकाले संस्थाहरुलाई हेर्ने दृष्टिकोणको विषयमा जिज्ञासा राख्नु भएको थियो । यसैगरी सुदिप गैरेले पर्यटनको विकासका लागी पुराना कुवाको संरक्षण , प्रकाश ज्ञवालीले योजनाको उपलब्धि , दिपक अर्यालले नगरपालिका भित्र संचालित मेडिकलहरुको नियमन , र समिर पौडेलले नगरमा कला , सहित्य क्षेत्रको विकासका बारेमा जिज्ञासा राखेका थिए । सहभागिहरु मध्येबाट उठेका जिज्ञासाको जवाफ दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षाको क्षेत्रमा नगरपालिकाले विभिन्न क्याम्पस तथा विद्यालयमा भौतिक संरचनाका काम गरेको र विद्यार्थीहरुलाई छात्रबृद्धिको व्यवस्था एवं विपन्न परिवारका विद्यार्थीहरुलाई स्नातक तह अध्ययनका लागी निशुल्क भर्नाको व्यवस्था गरेको बताउनुभयो । रामपुरको गुरुयोजना सम्बन्धि जवाफ दिंदै उहाँले नगरको तर्फबाट बुझाउनु पर्ने र गर्नु पर्ने काम सवै गरिसकिएको तर सम्बन्धित स्थानबाट कुनै जानकारी नआएको बताउनुभयो । पर्यटन सम्बन्धि जिज्ञासाको जवाफमा नगर प्रमुख थापाले विभिन्न स्थानमा पुराना कुवाहरुको संरक्षणका केही काम भएको र यसलाई निरन्तरता दिई पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने काम भई रहेको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख थापाले हरेक व्यक्ति र निकायबाट प्राप्त सुझावलाई अंगिकार गर्दै आगामी दिनमा नगरपालिका अगाडी बढ्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम नगर उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको स्वागत र नगरपालिकाका सुचना अधिकारी रामहरि पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?