रामपुरमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखीकरण

पाल्पा, रामपुर नगरपालिकामा सञ्चालन हुन गैरहेको रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
     हेफर इन्टरनेश्नल मार्फत रामपुर नगरपालिकाको सहयोग र बेस नेपालको साझेदारीमा सञ्चालन हुन लागेको परियोजनाको पहिलो चरणमा समिति गठन तथा अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले परियोजनालाई कसरी प्रभावकारी ढंग बाट अघि बढाउने र जनताको जीवनस्तरमा उकास्ने भन्ने विषयमा ध्यान दिनु अावश्यक रहेको बताउनुभयो । उहाँले साझेदारी संघ संस्थाले जनताको स्तर वृद्धि संगै समाज रुपान्तरणमा दिएको योगदानको प्रशंसा गर्दै वडा अध्यक्षहरुलाई वडाका जनताको अावश्यकताको बारेमा अध्ययन गर्न अाग्रह गर्नु भयो ।
   रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले कार्यक्रम सञ्चालन संगै प्रभावकारिताको बारेमा समीक्षा हुनु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम र पालिकाको कार्यक्रम विचको समन्वयलाई विशेष ध्यान दिनु अावश्यक रहेको बताउनुभयो । कार्यक्रममा हेफर ईन्टरनेश्नल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले हेफर इन्टरनेश्नलको परिचय, परियोजनाको पृष्ठभूमी, कार्यक्रम सञ्चालन कार्यविधी, व्यवस्थापन तथा अनुगमन समिति गठन प्रक्रिया, वडा स्तरिय समिति गठन, समितिको अधिकार र कर्तव्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
    न्यू होटेल श्रीनगरको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षता, बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीको स्वागत र परियोजनाका युवा संयोजक सञ्जु परियारको सञ्चालनमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?