पाल्पाको उच्च भागमा बेमौसमी आलु खेती, मित्यालको गौरीशंकर माविले पनि खेती गर्दै

आलु बारीमा उम्रीएको झार हटाउँदै गौरीशंकर मावि मित्यालका विद्यार्थीहरु

इमान सिं राना

पाल्पा, विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न करेसाबारी सञ्चालन गर्दै आएको गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्यालले बेमौसमी आलुखेती सुरु गरेको छ । मौसम अनुसारको खेती गर्दै आएको विद्यालयले आफ्नै साढे दुई रोपनी जग्गामा बेमौसमी आलु खेती गरेको हो ।

        जिल्लाको निस्दी, माथागढी र रैनादेवी छहराको उच्च भागमा कृषि ज्ञान केन्द्र पाल्पाले आलु मिसन कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको माथागढी लगाएत केही उच्च स्थानमा स्थानीयले बेमौसमी आलु खेती गर्दै आएपनि व्यवसायीक रुपमा प्रवद्र्धन गर्न सरकारी स्तर बाटै पहिलो पटक यस वर्ष पहल भएको छ । सोही अनुसार निस्दीमा मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा खेती गरिएको छ । विद्यालयले आलु मिसन कार्यक्रम अनुसार आलु लगाएको हो ।

        विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले पालिकामा पहिलो पटक बेमौसमी आलु खेती सुरु भएको र विद्यार्थीहरुलाई जानकारी दिन विद्यालयले पनि बेमौसमी आलु लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको पेशा व्यवसाय अध्ययनरत विद्यार्थीहरुलाई लक्ष्यित गरी यस अघि पनि विद्यालयको खाली जग्गामा तरकारी खेती गर्दै आएको थियो । यस वर्ष नयाँ प्रयोग गरौं भनेर बेमौसमी आलु पनि लगाएका छौं ।’ विद्यालयले प्राविधिक धारको शिक्षा संचालनको लागि मित्यालको काफलमा १५ रोपनी जग्गा लिएको थियो ।

       गत हिउँदमा पनि विद्यालयले आलु लगाएको थियो । विद्यालयका शिक्षक तुलसीराम घिमिरेले गोडमेल र रेखदेखको लागि शिक्षक तथा विद्यार्थीहरु लागि परेको जानकारी दिनुभयो । उहाँले रोगकिराको व्यवस्थापनको लागि स्थानीय स्तरमा उपलब्ध विषदी प्रयोग गरिएको बताउनुभयो । निस्दी गाउँपालिका कृषि शाखा प्रमुख खिम कोईरालाले विद्यालय संगै कृषकहरुले वडा नं. ४ मित्यालको झ्याल्टुङ्, रुप्सेभन्ज्याङ, काफल क्षेत्रमा कृषकले बेमौसमी आलु खेती गरेको जानकारी दिनुभयो । शाखाले आवश्यकता अनुसार प्राविधिक ज्ञान प्रदान गर्दै आएको बताउनुभयो । निस्दीमा पहिलो पटक १ हजार ६ सय किलो विउ ल्याएर बेमौसमी आलु लगाईएको छ ।

        बेमौसमी आलु खेतीका लागि उपर्युक्त स्थान छनोट गरी कृषि ज्ञान केन्द्र पाल्पाले न्यूनतम २० रोपनी क्लस्टरमा खेती गर्ने समुहलाई सहयोग गरेको थियो । क्षेत्र छनोट गरी ज्ञान केन्द्रले निस्दी, माथागढी र रैनादेवी छहरामा कृषि समुह तथा सहकारीलाई आलु मिसनका लागि सहयोग गरेको केन्द्रको प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले पाल्पाको माथागढीको ओलेस लगाएतका क्षेत्रमा स्थानीयहरुले पहले देखिनै बेमौसमी आलु लगाउँदै आए पनि बेमौसमी आलु प्रवद्र्धनको लागि सरकारी स्तर बाट पहिलो पटक पहल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाल्पामा बेमौसमी आलु खेती हुन्छ भन्ने थाहा थियो । क्षेत्र पनि निर्धारण भएको थियो । केही स्थानमा हिउँदको आलुलाई नै विउको रुपमा प्रयोग गर्दै आए पनि यस वर्ष पहिलो पटक हिउँदमा उम्रेको आलुको टुसालाई उपचार विधि मार्फत तयार पारिएको बीउ डडेल्धुरा बाट आयात गरेर पहिलो पटक लगाईएको हो ।’

       उहाँका अनुसार माथागढीको ओलेस क्षेत्रका कृषकहरुले आलु उत्पादन भएर खनी सकेको र निस्दी र रैनादेवी छहरामा पनि केही समय पछि खन्ने जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालका अनुसार बेमौसमी आलु १ हजार ६ सय देखि २ हजार मिटर उचाईमा लगाउन सकिन्छ । साथै उत्तरी मोहोडा फकिएको स्थानमा १ हजार ५ सय उचाईमा लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?