शिक्षकहरुलाई खोप उपलब्ध नभए सम्म पाल्पामा शैक्षिक गतिविधिहरु बन्द गर्ने शिक्षक महासंघको निर्णय

पाल्पा, नेपाल शिक्षक महासंघ पाल्पाले शिक्षकहरुको लागि कोरोना विरुद्धको खोप उपलब्ध नभए सम्म जिल्लाका शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरेको छ । महासंघको आह्वानमा बसेको शिक्षकहरुको पेसागत संघ, संगठनहरुको संयुक्त बैठकले खोप उपलब्ध नभए सम्म बोर्ड परीक्षा, अनलाइन तथा अफलाइन कक्षा लगायत सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को बढ्दो संक्रमण संगै जोखिमका विच पनि अनलाईन तथा अन्य माध्यम बाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर पहिलो चरणको खोप समेत लगाउने व्यवस्था नगरिएकोमा आपत्ती जनाएको छ । महासंघले शिक्षक कर्मचारीहरुको उच्च मनोबलका लागि कोभिड विरुद्धको खोपको व्यवस्था नहुँदा सम्म कक्षा ११ को परीक्षा स्थगन गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने तथा सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका अध्यक्ष धनकला गाहाले जानकारी दिनुभयो । साथै बैठकले भोली विहिबार र शुक्रबार जिल्ला शिक्षा समन्वय इकाईमा २ घण्टा धर्ना दिने निर्णय गरेको गाहाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुलाई खोपको प्राथमिकता निर्धारण मै उपेक्षा गरिएको छ । विद्यार्थी र अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहेर खटिने शिक्षकहरुलाई खोपको व्यवस्था नहुँदा सम्म शैक्षिक गतिविधि बन्द गर्न जिल्लाको सबै पालिकाहरुमा खबर गरिसकेका छौं । २ दिन धर्नाको कार्यक्रम छ । त्यस पछि थप कार्यक्रमहरु तय हुनेछ ।’ शिक्षक तथा कर्मचारीहरुलाई कोभिड बिरुद्धको खोप नपुग्दासम्म अन्य शिक्षकहरुले पनि खोप नलगाउने निर्णय गरेको छ ।

महासंघले बुधबार सरोकारवाला निकायहरूको ध्यानाकर्षण सहित जिल्ला प्रशासन कार्यालय पाल्पा तथा स्वास्थ्य कार्यालय पाल्पामा ज्ञापन पत्र समेत बुझाएको छ । महासंघ अध्यक्ष गाहा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघका उपाध्यक्ष शारदा पाण्डे, प्याब्सन पाल्पाका उपाध्यक्ष्य महेशमान बज्राचार्य, अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवर लगाएतको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको हो । बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति अध्यक्ष दीर्घनारायण आचार्य, मायादेवि घर्ती, टिकाराम ढकाल, हिरा आचार्य लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो । त्यस्तै बैठकले नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका निवर्तमान अध्यक्ष देबिप्रसाद भट्टराईलाई विदाई गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?